गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ३१ गते । नेपाल अर्बुद रोग निवारण संस्थाले अन्तर्राष्ट्रियस्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्ने भएको छ । संस्थाको ४० औँ वर्षमा प्रवेश गरेको अवसरमा केन्द्रका अध्यक्ष महेश श्रेष्ठले संस्थाले छिटै अन्तर्राष्ट्रियस्तरको क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्ने जानकारी दिनुभयो ।
सुरुवाती चरणमा नै क्यान्सरको पहिचान गर्ने उद्देश्यले संस्थाले क्यान्सर डायग्नोष्टिक सेन्टर स्थापना गर्न लागेको श्रेष्ठले बताउनुभयो । नेपालमा क्यान्सरले आर्थिक मात्र नभई सामाजिक र मानसिक समस्या पनि उत्पन्न हुने हुँदा आफ्नो जीवनशैली परिवर्तन गरी क्यान्सर लाग्नै नदिनेतिर ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।
सरकारीस्तरबाट क्यान्सर नियन्त्रणमा एक लाख बराबरको उपचार खर्च उपलब्ध गराउने बाहेक खासै काम नभएकाले रोगबारेमा जनचेतना फैलाउनेतर्फ सरकारको ध्यान जानुपर्ने उहाँको तर्क छ ।
उहाँले भन्नुभयो, “धेरै नेपालीहरू क्यान्सर भएर विदेश जना बाध्य भएकाले सरकारले आफूसँग भएका संरचनालाई बलियो बनाएर नेपालमा क्यान्सर रोगको उपचार गर्ने वातावरण बनाउनुपर्नेतर्फ सरकारले ध्यान दिन जरुरी छ ।” कार्यक्रममा महानगरपालीकाको सार्वजनिकस्थलमा धुमपान गर्न नदिने निर्णयको सहभागीले प्रशंसा गरेका छन् ।
क्यान्सर लाग्ने प्रमुख कारकतत्वको रूपमा रहेको सुर्तीजन्य पदार्थ भएकाले यसको कर बढाउन उपस्थित सबैको माग थियो। कार्यक्रममा प्रतिनिधिसभा सांसद तेजुलाल चौधरीले चुरोट तथा सुर्तीजन्य पदार्थ विक्री गर्न पनि लाइसेन्सको व्यवस्था हुनुपर्ने जिकिर गर्नुभयो ।
संस्थाका केन्द्रीय सदस्य डा. प्रकाशराज न्यौपानेले क्षयरोगजस्तै क्यान्सरको औषधी निःशुल्क गर्नसके यसबाट हुने मृत्युमा कमी हुने बताउनुभयो । क्यान्सरको औषधी निःशुल्क वितरण गर्न नेपाल अर्बुद रोग निवारण संस्था पहल गर्ने डा. न्यौपानेले जानकारी दिनुभयो । नेपाललाई निःशुल्क क्यान्सरको औषधि दिन विदेशी संस्थाहरू तयार रहेको दाबी उहाँले गर्नुभयो।
सरकारले कानुनी प्रक्रिया मिलाइदिएमा नेपालमा क्यान्सरको औषधी निःशुल्क वितरण गर्न मध्यस्थताको काम गर्न संस्था तयार रहेको जानकारी उहाँले दिनुभयो। क्यान्सरको रेडियोथेरापी उपचार निकै महँगो भएकाले संस्थाले छुट्टै रेडियोथेरापी केन्द्र खोल्न पहल गरिरहेको डा.न्यौपाने बताउनुभयो।
यो संस्था क्यान्सर रोगविरुद्ध, क्यान्सरपीडितको पक्षमा काम गर्न २०३९ सालमा स्थापना भएको हो । ४० वर्षको अवधिमा संस्था ४४ जिल्ला शाखा विस्तार गरिसकेको छ । ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने संस्थाको उद्देश्य रहेको छ । संस्थाले आफ्नो ३९औँ वर्ष पार गरी ४० औँ वार्षिकोत्सवको अवसरमा स्मारिका प्रकाशन पनि गरेको छ ।