काठमाडौं, भदौ ३१ गते । निर्वाचन आयोगले मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ ।
शुक्रबार आयोगले विज्ञप्ति जारी गर्दै मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पूरा हुने ८८ लाख ४७ हजार ५७९ महिला, ९१ लाख ४० हजार ८०६ पुरुष र १८५ जना अन्य गरी कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता कायम भएको जनाएको छ ।
यसैगरी, मतदाता सङ्ख्याका आधारमा आयोगले १० हजार ८९१ मतदाता स्थलअन्तर्गत २२ हजार मतदान केन्द्र रहने गरी मतदान केन्द्र निर्धारण गरेको जानकारी आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिनुभयो ।
आयोगका अनुसार मोरङ, झापा र काठमाडौँमा सबैभन्दा बढी मतदाता रहेका छन् भने मनाङ, मुस्ताङ र डोल्पा सबैभन्दा कम मतदाता छन् ।
यसैगरी, बागमती, प्रदेश १ र मधेस प्रदेशमा सबैभन्दा बढी मतदाता कायम भएका छन् । बागमती प्रदेशमा ३४ लाख ७१ हजार ४९२ जना, प्रदेश १ मा ३३ लाख ९६ हजार ८६५ जना र मधेस प्रदेशमा ३३ लाख ८६ हजार ६२८ जना मतदाता छन् । त्यस्तै, कर्णाली प्रदेशमा १० लाख आठ हजार ४०३ जना, सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार चार जना र गण्डकी प्रदेशमा १८ लाख १७ हजार ५४१ जना मतदाता छन् ।
आयोगका अनुसार मोरङ, काठमाडौँ र झापामा सबैभन्दा बढी र मनाङ, मुस्ताङ र रसुवामा सबैभन्दा कम मतदान केन्द्र कायम गरिएको छ ।
सबैभन्दा बढी मोरङमा ८३९, काठमाडौँमा ७६७ र झापामा ७६६ मतदान केन्द्र कायम गरिएको छ भने सबैभन्दा कम मनाङमा २८, मुस्ताङमा ३९ र रसुवामा ५२ मतदान केन्द्र कायम गरिएको छ ।
यसैगरी, सात प्रदेशमध्ये सबैभन्दा बढी मतदान केन्द्र हुने प्रदेशमा मधेस प्रदेश, बागमती प्रदेश र प्रदेश १ रहेको छ । मधेस प्रदेशमा चार हजार २३५, बागमती प्रदेशमा चार हजार १४३ र प्रदेश १ मा चार हजार ९९ मतदान केन्द्र रहेको छ । सबैभन्दा कम मतदान केन्द्र हुने तीन वटा प्रदेश रहेका छन् । प्रदेशमा कर्णाली प्रदेशमा एक हजार ४०३, सुदूरपश्चिम प्रदेशमा दुई हजार १४६ र गण्डकी प्रदेशमा दुई हजार ३३९ मतदान केन्द्र कायम भएको आयोगले जनाएको छ ।