• १३ साउन २०८१, आइतबार

बागलुङमा तीव्र गतिमा फैलियो डेंगु

blog

नवीन शिशिर
बागलुङ, भदौ ३१ गते ।
बागलुङमा डेंगुको सङ्क्रमण तीव्र गतिमा फैलिएको छ । पछिल्लो एक महिनाको अवधिमा २६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय बागलुङकी निमित्त प्रमुख जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले भदौ महिनामा मात्रै २६ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । यो सङ्ख्या जनस्वास्थ्यको दृष्टिले जोखिमपूर्ण मानिन्छ ।

बागलुङमा असारदेखि डेंगु सङ्क्रमण देखिन सुरु भएको हो । असार र साउन तीन–तीन जनामा सङ्क्रणम पुष्टि भएको थियो भने भदौ महिनामा २६ जनामा सङ्क्रमण देखिएको छ ।

डेंगुको निर्धारित उपचार पद्धति नभएका कारण पनि यसबाट बच्नुपर्ने शर्माको भनाइ छ । ‘‘डेंगुको उपचार छैन, लामखुट्टेको टोकाइबाट सर्ने रोग भएका कारण यसबाट जोगिनुकै मुख्य उपाय हो ।’’ उहाँले भन्नुभयो । डेंगु एडिज जातको लामखुट्टेको टोकाइबाट सर्छ ।

सङ्क्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले स्वस्थ व्यक्तिलाई टोक्दा यो भाइरस सर्ने र जटिल खालको स्वास्थ्य समस्या देखिने जनस्वास्थ्य निरीक्षकको भनाइ छ ।

धौलागिरी अस्पतालकी फिजिसियन कन्सल्टेन्ट डा. रायना श्रेष्ठका अनुसार बागलुङमा काठमाडौंबाट आएका व्यक्तिहरुमा डेंगुको सङ्क्रमण देखिएको छ ।