काठमाडौं, भदौ ३० गते । पछिल्लो केही महिनादेखि डेंगुको प्रकोप बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार डेंगुको सङ्क्रमणबाट अहिलेसम्म ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार साउन यता ११ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो । स्वास्थ्य मन्त्रालयले हालसम्म ७५ जिल्लाबाट १२ हजार २१७ जनामा डेंगु पुष्टि भएको जनाएको छ ।
डेंगुको सङ्क्रमण सबैभन्दा धेरै बागमती प्रदेशमा नौ हजार ३०४ जनामा भएको छ । यस्तै, लुम्बिनीमा एक हजार ४७९, प्रदेश १ मा ४०२, सुदूरपश्चिममा ३८०, गण्डकीमा २४५, मधेस प्रदेशमा २२३ र कर्णाली प्रदेशमा १८४ जनामा डेंगु पुष्टि भएको छ ।
जिल्लाअन्तर्गत सबैभन्दा बढी ललितपुर, काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ , भक्तपुर, धादिङ, तेह्रथुम, काभ्रे र चितवन गरी १० जिल्लामा सबैभन्दा बढी डेंगु सङ्क्रमित रहेका छन् ।
हरेक दुई तीन वर्षको अन्तरालमा नेपालमा डेंगु रोग प्रकोपका रूपमा देखा पर्ने गर्छ । यस अघि २०१९ मा प्रकोपका रूपमा फैलिएको थियो । सोही समयमा १७ हजारभन्दा बढीमा डेंगु पुष्टि हुनुका साथै छ जनाको मृत्यु भएको थियो ।
भाइरोलोजिष्ट डा. लुना भट्टका अनुसार डेंगुको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउँको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् ।
एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टा पछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि यो लामखुट्टे बढी सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।
सरकारले डेंगु रोकथामका लागि लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान नै सञ्चालन गर्ने भएको छ । स्वास्थ्य मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेख्दै देशैभरका स्थानीय तहमा लामखुट्टे नष्ट गर्ने राष्ट्रिय अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
डेंगु नियन्त्रण तथा रोकथामका लागि आवश्यक समन्वय तथा सहजीकरण गर्न आग्रह गर्दै मन्त्रालयले प्रत्येक शनिबार बिहान १० बजेर १० मिनेट छुट्याई घरभित्र र बाहिर लामखुट्टेले फुल पार्ने ठाउँ ‘खोजौँ र नष्ट गरौँ’भन्ने नारासहित राष्ट्रिय अभियान सञ्चालन गर्ने जनाएको छ ।
नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी देखिएका थिए ।