• २१ असार २०८१, शुक्रबार

जग्गा विवादले सिँचाइ आयोजना सम्पन्न भएन

blog

राजकुमार भट्टराई

खोटाङ, भदौ ३० गते । जग्गा विवादका कारण खोटाङको एक सिँचाइ आयोजना निर्धारित मितिमा सम्पन्न हुन सकेन। जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६, छितापोखरीस्थित टुवाखोला मुहान रहेको लोकतान्त्रिक सिँचाइ आयोजनामा जग्गा विवाद हुँदा समयमै सम्पन्न हुन नसकेको हो। योजना सम्पन्न भएको भए दिप्रुङ चुइचुम्मा गाउँपालिकाका बतासे, सछितापोखरी र छितापोखरी गरी तीन वडाका खेतमा सिँचाइ सुविधा पुग्ने थियो। 

२०७९ असार मसान्तभित्र काम सम्पन्न गर्ने गरी लोकतान्त्रिक सिँचाइ आयोजनाको सम्झौता ७ मङ्सिर २०७६ मा गरिएको थियो। प्रदेश सरकारको सात करोड ८२ लाखको लागतमा स्काई रामसागर विवश जेभीको निर्माण कम्पनीले आयोजनाको सम्झौता गरेको थियो। तर सम्झौता म्याद नाघिसक्दा योजनाको करिब ६० देखि ६५ प्रतिशत मात्र काम सकिएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खोटाङका प्रमुख मेघराज ज्ञवालीले बताउनुभयो। 

सुरुमा सिँचाइ योजनाको नहर आरसीसी ढलान गर्ने गरी डिजाइन गरिएको थियो। सोहीअनुसार रुटमा पर्ने क्षेत्रका जग्गा धनीबाट जग्गा व्यवस्था गरिएको थियो। 

तर त्यसको केही समयपछि आरसीसी ढलानको सट्टा पाइप राख्ने गरी अर्को डिजाइन तयार पारेर कामअघि बढाइयो। आयोजनाको डिजाइन परिवर्तनले पाइप लाइन ‘डाउन’ हुँदा नहरको रुट पनि परिवर्तन हुन पुग्यो।

पाइप फुटेको खण्डमा जोखिम हुने भन्दै नयाँ रुटमा पर्ने जग्गा धनीले जग्गा दिन अस्वीकार गरेपछि आयोजनाको काममा विलम्ब भएको हो। जमिनमा नगाडी तेस्र्याएर राखिएको पाइप फुट्दा विपत्ती निम्त्याउने त्रासले स्थानीयले जग्गा दिन अस्वीकार गरेको लोकतान्त्रिक सिँचाइ योजना उपभोक्ता समिति अध्यक्ष खगेन्द्र राईले बताउनुभयो।