• १३ साउन २०८१, आइतबार

सल्यानका सडकहरू तत्काल मर्मत गर्न निर्देशन

blog

सल्यानका मुख्य राजमार्ग र ग्रामीण सडक मर्मत सुधारका लागि जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको बैठक । तस्बिर: गोरखापत्र

सल्यान, भदौ २८ गते । जिल्लाको मुख्य सडकको रूपमा रहेको राप्ती राजमार्ग र  सहायक सडकको निर्माण, मर्मत तथा अवरुद्ध सडक मर्मत हुन नसक्दा उपभोक्ताहरू मारमा परेका छन् । वर्षा कम भएसँगै तत्काल सडक सुचारु गर्न जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ । 

दिन प्रतिदिन जीर्ण बन्दै गइरहेको राप्ती राजमार्ग र वर्षाका कारण रोकिएका सहायक सडकहरूको काम तत्काल सुरु गर्न प्रशासनले भनेको छ । सोमबार जिल्ला प्रशासन कार्यालय सल्यानमा प्रमुख जिल्ला अधिकारी विपिन आचार्यको संयोजकत्वमा जिल्ला भित्र पर्ने सडकहरूको निर्माण, मर्मत पुनः निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रममा भएको छलफलबाट जिल्लामा रोकिएका मुख्य सडकहरू र सहायक सडकहरूको काम तत्काल सुरु गर्न निर्देशन दिइएको थियो ।  

विशेष गरी जिल्लाको मुख्य सडक राप्ती राजमार्ग, खलङ्गा, वावियाचौर, बालुवा संग्रह लगायतका अन्य सहायक सडकहरूमा रोकिएका काम असोज १ गते देखि नै सुरु गर्न सडक डिभिजन कार्यालय दाङ, पूर्वाधार विकास कार्यालय सल्यान, र निर्माण व्यवसायीहरूलाई आग्रह गरिएको छ । 

चाडपर्व नजिकै आएकाले सडकहरूको निर्माण, मर्मत, तथा स्तर उन्नतिको काम छिटो छरितो र गुणस्तरीय गरी यातायात सञ्चालनमा सहजता ल्याउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार सल्यानका अधिकांश सडकहरूको काम अलपत्र अवस्थामा रहेकाले निमार्ण व्यवसायीले जिम्मेवार पूर्ण भएर काम गर्न आवश्यक छ  ।

उद्योग वाणिज्य सङ्घ सल्यानका अध्यक्ष कुमार बुढाथोकीले निर्माण व्यवसायीहरूले ठेक्का सम्झौता गरे पनि काम नगरेको पाइएकाले रोकिएका काम छिटो सञ्चालन गर्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो सडक सुधारका योजना परे पनि जिम्मेवारी लिएकाहरूको लापरबाही रहेको देखिएको छ   ।

जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावतले ग्रामीण क्षेत्रका सडक मात्र होइन मुख्य राजमार्ग समेत जीर्ण हुँदा जनताले सास्ती बेहोर्नु परेकाले मर्मत सुधारका काम तत्काल अघि बढाउनु पर्ने बताउनुभयो । 

कार्यक्रममा निमार्ण व्यवसायीहरूले निर्माण सामाग्री महँगो भएका कारण र बर्सातको कारण सडकहरूको काम गर्न नसकेको बताएका थिए । प्रतिनिधि सभा सदस्य टेक बहादुर बस्नेतले  राप्ती राजमार्ग मर्मत सुधार र स्तोरोन्तीका लागि विनियोजित बजेट कार्यान्वयनमा नआउँदा, काममा ढिलासुस्तीले  जनताले सास्ती पाएकाले सडक डिभिजनले पहल कदमी लिएर छिटोछरितो काम गर्न आग्रह गर्नु भयो ।

सडक मर्मतका लागि मात्र राप्ति राजमार्गमा बर्सेनि ५० करोड खर्च भइरहेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । यस वर्ष पनि मर्मतको लागि मात्र भनेर ४० करोड बजेट विनियोजन गरिएको छ । तर बजेट खर्च भइरहेपनि वर्षनि राजमार्ग जीर्ण बन्दै जाँदा यात्रुलाई सास्ती भएको छ भने दुर्घटनाको जोखिम झनै बढेको छ । तर डिभिजन कार्यालयले भने सडक सुधारको काम भइरहेको दाबी गरेको छ  । 

सडक डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जैसवालले ठेकेदारले काममा ढिलाइ गर्दा सडकहरू भने जस्तो सुधार हुन नसकेको कार्यालयले जति ताकेता गर्दा र कारबाहीको प्रक्रिया अगाडी बढाउँदा पनि ठेकेदारहरूले काम नगरेको बताउनुभयो । उहाँका अनुसार तत्काल दसैँ अगाडी सडकका खाल्डाखुल्डी पुर्ने र पहिरो पन्छाउने काम गर्ने र अन्य ठेक्का प्रक्रिया लागिसेको ठाउँहरूको पनि मौसम खुलेपछि तत्काल काम सुरु गरिने छ  ।

Author

प्रतीक शर्मा