• २७ पुस २०८१, शनिबार

गलेश्वर मन्दिरको भेटी तीन करोड पुग्यो

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, भदौ २६ गते । हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरस्थित गलेश्वर मन्दिरमा सङ्कलन भएको भेटी रकम तीन करोड रुपियाँभन्दा बढी मौज्दात भएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषले दिएको जानकारीअनुसार साउन मसान्तसम्मको तथ्याङ्कले गलेश्वर मन्दिरमा भेटीबापत सङ्कलन भएको रकम तीन करोड ६ लाख ८७ हजार चार सय ८३ रुपियाँ पुगेको छ । 

२०६८ देखि तथ्याङ्क अद्यावधिक गरेर राख्न थालेपछिको रेकर्डअनुसार सो रकम जम्मा भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका कार्यालय सचिव रामबहादुर बानियाँले बताउनुभयो । मन्दिरलाई आवश्यक सामग्री खरिद, पूजा अर्चना तथा मर्मत एवम् तलब खर्च समेत कटाएर साउन मसान्तसम्म सो रकम जम्मा भएको हो ।

हाल गलेश्वर शिवालय क्षेत्र विकास कोषको नाउँमा मुद्दती खातामा दुई करोड ६८ लाख १५ हजार रुपियाँ छ । मुद्दती रकममध्ये एक करोड २० लाख रुपियाँ सहकारी संस्थामा रहेको छ भने गरिमा विकास बैङ्कमा ८० लाख र माछापुच्छ्रे बैङ्कमा ६८ लाख १५ हजार रुपियाँ जम्मा भएको छ । त्यस्तै, बचत खातामा ३८ लाख १८ हजार सात सय ९१ रुपियाँ रहेको कोषले जनाएको छ ।

गलेश्वर शिवालय क्षेत्र विकास कोषमा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको दुई करोड ६९ लाख २१ हजार पाँच सय नौ रुपियाँ थियो । गत आर्थिक वर्षमा गलेश्वर मन्दिरमा सदस्यता शुल्कबाट आठ हजार ६ सय ५५, मेला पर्वमा ६ लाख ८९ हजार नौ सय ७१, मण्डप भेटीबाट ३३ लाख ९५ हजार पाँच सय ५१, यज्ञ दर्ता शुल्कबाट चार लाख ६८ हजार पाँच सय ७२, यात्री निवास शुल्कबाट चार लाख ६४ हजार ५०, ब्याज आम्दानी १० लाख २८ हजार नौ सय २८ संकल भएको छ । 

सोहीअनुसार दान दातव्यबापत १३ लाख ५४ हजार सात सय ७०, जिन्सी सामान बिक्रीबाट तीन लाख ७१ हजार ६ सय ४०, सरकारी अनुदान आठ लाख ४२ हजार ६ सय ४२, विविध आम्दानी एक लाख ४४ हजार दुई सय ७९, पार्किङ शुल्क चार हजार नौ सय ३५ र स्टल भाडा बापत ६ लाख ६० हजार दुई सय ८५ गरी कुल तीन करोड ६५ लाख ५५ हजार सात सय ८७ रुपियाँ आम्दानी भएको कोषले जनाएको छ ।