• १३ साउन २०८१, आइतबार

बाँके गठबन्धनका लागि ‘ग्रिन जोन’ भएको दावी

blog

सिराज खान 

नेपालगञ्ज, भदौ २५ गते । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचनको माहोल देशभरि तात्दैगएको छ । विशेषगरी भिआइपी उम्मेदवार उठ्ने निर्वाचन क्षेत्रको चर्चा बढी हुनेगरेको छ ।

चियापसलदेखि विभिन्न सभा समारोहमा समेत चुनावी चर्चा अहिले बढ्दैगएको छ । पश्चिम नेपालको केन्द्र मानिने बाँकेमा पनि चुनावी माहोल विस्तारै लय समात्न थालेको छ । दलहरुले उम्मेदवार सिफारिस गर्न थालेपछि निर्वाचनको माहोल गर्माउन थालेको हो । 

हालै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा जिल्लाका तीन वटै प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा गठबन्धन दलले अत्यधिक मत ल्याएकाले सो क्षेत्रमा विजयी हुने क्षेत्र भनेर ‘ग्रिन जोन’ मा राख्ने गरेको छ ।  

जिल्लाका तीन क्षेत्रमध्ये क्षेत्र १ र क्षेत्र २ मा गत निर्वाचनमा पनि अहिले गठबन्धनभित्र रहेकै माओवादी र जनता समाजवादी पार्टीका उम्मेदवार विजयी हुनुभएको थियो । यस पटक पनि ती क्षेत्रमा उहाँहरुकै दावी छ । 

बाँके क्षेत्र १ बाट विजयी हुनुभएका नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य महेश्वर गहतराज युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ । क्षेत्र २ बाट विजयी हुनुभएका जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य मोहम्मद इस्तियाक राई भौतिक पुर्वाधार तथा यातायातमन्त्री हुनुहुन्छ । 

क्षेत्र ३ मा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार बन्ने सम्भावना रहेको सो दलले जनाएको छ । स्थानीय तहको निर्वाचन परिणाम हेर्दा सो क्षेत्र पनि गठबन्धनका लागि ग्रिन जोनमै पर्छ । बाँकेको सबै क्षेत्रमा यस पटक पनि गठबन्धन दलका उम्मेदवार जित्नेमा आफूहरु ढुक्क रहेको जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष राईले बताउनुभयो । 

एमालेबाट क्षेत्र १ मा किस्मतकुमार कक्षपति र क्षेत्र ३ मा सूर्य ढकालले टिकट पाउने सम्भावना बढी देखिएको एमालेका अधिकांश नेता कार्यकर्ताको भनाई छ । स्थानीय तहको निर्वाचनमा वडामा पाएको मतलाई हेर्ने हो भने बाँकेमा गठबन्धन निकै बलियो अवस्थामा रहेको कांग्रेस बाँकेका सभापति नारायण गौडलको भनाई छ । 

एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जिल्लामा एमालेको पकड अझै पनि निकै राम्रो रहेकाले परिणाम एमालेको पक्षमा आउने दावी गर्नुभयो ।