• १७ असार २०८१, सोमबार

बेनी–जोमसोम सडक अवरुद्ध

blog

म्याग्दी, भदौ २५ गते । अविरल वर्षासँगै आएको पहिरोका कारण हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ ।

शुक्रबारदेखि निरन्तरको वर्षासँगै आएको पहिरोको कारण बेनी–जोमसोम–कोरला सडक अन्तरगतको बैशरीमा पहिरोले सडक अवरुद्ध भएको छ । त्यस्तै खोलामा बाढीको बहाव उच्च भएको कारण बेगखोलामा पनि सवारी आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले बताउनुभयो । प्रहरी निरीक्षक ढकालका अनुसार रघुगंगा गाउँपालिका–२ बैशरी एवम् रघुगङ्गा गाउँपालिका–१, बेगखोलामा सडक अवरुद्ध छ ।

त्यस्तै बेनी–दरवाङ–जलजला सडक खण्ड अन्तरगतको बाङ्गे पहिरोमा पहिरोले सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पहिरोले अवरुद्ध भएको सडक खुलाउनका लागि प्रयास भएको भए पनि वर्षा नरोकिएको कारण केही कठिनाइ भएको भए पनि खुलाउने प्रयास जारी रहेको प्रहरी निरीक्षक ढकालले बताउनुभयो ।

बेनी–जोमसोम–कोरला कालिगण्डकी करीडोर सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले सडक खुलाउनका लागि डोजरसहित त्यसतर्फ लागेको बताउनुभयो । शेरचनले भन्नुभयो पहिरो झरेको स्थान पुगेपछि मात्रै सडक खुलाउन कति समय लाग्छ भन्न सकिने बताउनुभयो । पहिरो झरेको जानकारी आएपछि अन्नपूर्ण गाउँपालिका–३ दानाबाट डोजरसहितको टोली पहिरो झरेको स्थानतर्फ लागेको शेरचनको भनाइ छ ।

Author

अमृतप्रसाद पौडेल