• २७ पुस २०८१, शनिबार

औषधि उद्योग प्रवर्द्धनमा जोड

blog

काठमाडौँ, भदौ २५ गते ।  स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वदेशी औषधि उद्योगको प्रवर्द्धनका लागि नीति नियम परिवर्तन गर्न सकिने बताउनुभएको छ । 

नेपाकेयर फर्मास्युटिकल्सको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री केसीले स्वदेशी उद्योग प्रवद्र्धनका लागि सरकारले नीति परिवर्तन गर्न सक्ने बताउनुभएको हो । 

गुणस्तरीय औषधि सहज रूपमा उपलब्ध गराउनुपर्ने भन्दै उहाँले औषधि उद्योगलाई सङ्ख्यात्मकभन्दा गुणात्मक रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाकेयर फर्मास्युटिकल्सका अध्यक्ष मृगेन्द्रमेयर श्रेष्ठले हाल उद्योगले नौ प्रकारका औषधि बजारमा पठाउन थालेको जानकारी दिनुभयो । औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि शुक्रबारदेखि औषधि बजारमा आएको उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले औषधि उद्योग सञ्चालनका लागि चाहिने नेपाल सरकारको मापदण्ड, विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) जीएमपीको निर्देशन र यूएसएफडीएको प्रावधानअनुसार उद्योग सञ्चालनमा रहेको उहाँको भनाइ छ । 

उद्योगका कार्यकारी निर्देशक सुनील श्रेष्ठले दक्ष जनशक्ति र यूएसएफडीए मान्यता प्राप्त उपकरणका साथै सुविधासम्पन्न प्रयोगशालाबाट औषधि उत्पादन भइरहेको जानकारी दिनुभयो । श्रेष्ठका अनुसार नेपाकेयरले ट्याबलेट, क्याप्सुल, मलम र झोलका रूपमा औषधि उत्पादन गर्न सुरु गरेको बताउनुभयो । 

कार्यक्रममा नेपाल औषधि उत्पादक औषधि व्यवस्था विभागका वरिष्ठ औषधि निरीक्षक किरण श्रेष्ठले औषधि उद्योगलाई प्रोत्साहित गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो । उहाँले औषधि विभागमा हाल पनि २०३५ सालमा पारित भएको दरबन्दी हुँदा समस्या भएको गुनासो गर्नुभयो । 

कार्यक्रममा औषधि उत्पादक सङ्घका उपाध्यक्ष सन्तोष बराल, नेपाल चिकित्सक सङ्घका महासचिव डा. बद्री रिजाल, नेपाल औषधि व्यवसायी सङ्घका महासचिव निरञ्जन रिजाललगायतले नेपाली औषधि विदेशमा निर्यात गर्नुपर्ने बताउनुभयो ।