• २३ पुस २०८१, मङ्गलबार

गाउँको नीति नियम बनाउन भुजुङमा भदौ सभा

blog

लमजुङको क्व्होलासोंथर गाउँपालिका ४ भुजुङ गाउँ। तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, भदौ २३ गते। लमजुङको पर्यटकीय गाउँ भुजुङमा नीति नियम तथा ऐन निर्माण तथा संशोधनका लागि भदौ सभा सुरु भएको छ। क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ४ भुजुङ गाउँमा हरेक वर्ष भदौसभा हुने गरेको छ। भदौको अन्तिम साता भदौसभा गर्ने गरिएको र सभाबाट नयाँ ऐन कानुन बनाउने गरिएको स्थानीयले बताएका छन्। यस वर्ष बिहीबारबाट भदौ सभा सुरु भएको छ। 

सभाको वडाध्यक्ष नारायण गुरुङले उद्घाटन गर्नुभएको हो। उहाँले गाउँलाई व्यवस्थित रुपमा सञ्चालन गर्न भदौ सभा गर्ने गरेको बताउनुभयो। भदौ सभा १ देखि ४ दिनसम्म सञ्चालन हुँदै आएको छ। गाउँका १ देखि ९ वटा टोलका घरमुली सभामा आउँछन्। गतवर्ष पारित गरेको नियम पालना गरे नगरेको कसम खाने गरिन्छ। नियम विपरित गरेकालाई जरिवाना हुन्छ। 

रीतिथिति व्यवस्थापन समितिका अध्यक्ष कालबहादुर गुरुङले गाउँको सामाजिक, सांस्कृतिक र आर्थिक अवस्थामा एकरुपता ल्याउन र गाउँलाई एकढिक्का बनाउन, बाहिरी व्यक्तिको हस्तक्षेप रोक्न भदौसभा गर्ने गरिएको बताउनुभयो। भदौमा बनाएको कानुन अर्को भदौसम्म हुने र हरेक वर्ष परिमार्जन गर्दै लाने गरेका छन्। उहाँका अनुसार भदौमा सञ्चालन गरिने भएकाले यो सभालाई भदौसभा भन्ने गरिएको हो।

वर्षायाममा धान तथा कोदो रोपाइँ सकिएपछि केही फुर्सद हुने र फुर्सदको समयलाई सदुपयोग गर्दै उहिलेदेखि भदौसभा गर्दै आएको उहाँले बताउनुभयो।  स्थानीय तुलबहादुर गुरुङका अनुसार भदौ सभाले समाजमा चोरीडकैती गर्नेलाई जरिवाना गर्ने र राम्रो काम गर्नेलाई स्याबासी दिने गर्छ। भदौ सभामा प्रत्येक घरबाट घरमुली सहभागी भएको बताउनुभयो। उहाँका अनुसार सभामा पाप नगरेको, वर्षभर आफ्नो परिवारले अरु कसैमाथि नराम्रो नसोंचेको, अधर्म नगरेको, चोरीडकैती लगायत नराम्रो काम नगरेको भनी खुकुरीको धार, तामाको ताउलो, पाती छोएर कसम खाने गरिन्छ। कुनै पनि व्यक्तिले जानी नजानी गल्ती गरेको भए जरिवाना तिर्नुपर्ने व्यवस्था रहेको उहाँले बताउनुभयो। गतवर्षको कानुन आवश्यकता अनुसार बहुमतका साथ परिमार्जन पनि गरिन्छ। 

यसअघि सो गाउँ एउटै गाउँ र एउटै गाविसले चिनिन्थ्यो। अध्यक्ष नारायण गुरुङले भन्नुभयो, 'भदौ सभामा बनाएका कानुन गाउँले सबैले पालना गर्नुपर्छ। केही कानुनले बाहिरी व्यक्तिलाई पनि लाग्छ। गाउँ प्रवेशपछि सबैलाई यो कानुन लाग्छ।’ 

भदौसभामा जनप्रतिनिधिलाई पनि सहभागी गराइएको छ। यो सभा सम्पन गर्न पहिले १ सातासम्म लाग्थ्यो। अहिले ३ दिनसम्म भदौमा सभा संचालन हुने गरेको छ। लालीगुराँस युवा क्लवका अध्यक्ष नौराज गुरुङका अनुसार भदौ सभाले गाउँमा कायम रहेको श्रमज्याला, उपभोग्य वस्तुको मूल्य निर्धारण गर्ने गरिन्छ।  समाजमा चोरीडकैती गर्नेलाई कारबाही गर्ने र राम्रो काम गर्नेलाई स्याबासी दिने गरिन्छ। सभाले गाउँमा उत्पादित धान, मकै, कोदो लगायत खाद्यान्न बालीको मानापाथीको भाउ, कामदारको दैनिक ज्याला मूल्य निर्धारण गर्ने गर्छ।