• १३ साउन २०८१, आइतबार

रिट्ठेपानी डाँडा कटान ठेक्कामा

blog

सन्तोष सुवेदी

कास्की, भदौ २३ गते ।  पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको रिट्ठेपानी डाँडा कटानका लागि नागरिक उड्डयन प्राधिकरणले ठेक्का आह्वान गरेको छ। डाँडा कटानका लागि अक्टोबर ११ सम्म इच्छुक कम्पनीले दर्खास्त आह्वान गरिएको विमानस्थल आयोजनाका प्रमुख विनेश मुनकर्मीले जानकारी दिनुभयो। यसअघि रिट्ठेपानी डाँडाका छ सय रुख काटिइसकेका छन्। वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिएसँगै रुख कटानको काम सकिएको मुनकर्मीले जानकारी दिनुभयो। 

“रुख काटिएको छ, अब जमिन काट्नु पर्ने भएको छ। काटिएका रुख वन मन्त्रालयलाई हस्तान्तरण गरिनेछ,” उहाँले भन्नुभयो। रिट्ठेपानी डाँडाको ३८१ रोपनी क्षेत्रफलमध्ये ८१ रोपनी जग्गा व्यक्ति र तीन सय रोपनी जग्गा सरकारको नाममा छ।

मुनकर्मीले तीन हेक्टरको डाँडा कटान गरेपछि विमान उड्नको लागि सहज हुने बताउनुभयो। ‘‘ठेक्का लिने कम्पनीले एक महिनाभित्र डाँडा कटानको काम सक्नुपर्नेछ। उडानमा मुख्य समस्या यही हो। 

करिब २२ अर्ब रुपियाँ लागतमा चिनियाँ कम्पनीले निर्माण थालेको विमानस्थलको झण्डै ९८.५ प्रतिशत काम पूरा भइसकेको छ। विमानस्थल निर्माणको बाँकी काम पनि छिट्टै सक्ने र ‘क्यालिब्रेसन’ उडान गर्ने नागरिक उड्डयन प्राधिकरणको तयारी छ। 

यो विमानस्थल सञ्चालनमा आएसँगै नेपालमा अन्तर्राष्ट्रिय विमानस्थलको सङ्ख्या तीन हुनेछ। विमानस्थल सञ्चालनको मिति तय भए पनि नजिकै रहेको ल्यान्डफिल साइट भने अझै सारिएको छैन।

पोखरा महानगरपालिका मेयर धनराज आचार्यले आफ्नो सय दिनको उपलब्धि सार्वजनिक गर्ने क्रममा ल्यान्डफिल साइटको खोजीभन्दा पनि दीर्घकालीन रूपमा समस्या समाधानका लागि ठाउँठाउँमा प्रशोधन केन्द्र बनाउन पहल भइरहेको जानकारी दिनुभएको थियो। ठूलो ल्यान्डफिल साइट बनाउनुभन्दा पनि घरभित्रै फोहोरको व्यवस्थापन गरी बाँकी रहेको फोहोर निश्चित ठाउँमा पु-याउने गरी महानगर अघि बढेको छ,” प्रमुख आचार्यले भन्नुभयो।

अहिले विमान उडानका लागि प्रमुख समस्या ल्यान्डफिल साइट देखिएको छ। विमानस्थलबाट करिब दुई किलोमिटरमा रहेको ल्यान्डफिल साइट नहट्दा जहाजमा पन्छी ठोक्किने खतरा हुन्छ।