• ११ असार २०८१, मङ्गलबार

बालीविज्ञान कक्षा सञ्चालनमा सङ्कट

blog

दोलखा समाचारदाता

चरीकोट, भदौ २१ गते । गरीखाने विद्यार्थी उत्पादन गर्ने उद्देश्यका साथ दोलखाको कालिञ्चोक गाउँपालिका–५ स्थित लापिलाङ माध्यमिक विद्यालयमा खुलेको बालीविज्ञान प्राविधिक धार सञ्चालन सङ्कटमा परेको छ । सम्बन्धित निकायको खासै चासो नहुनु, विद्यार्थी भर्ना न्यून र अन्य आयस्रोत नहुँदा बालीविज्ञान प्राविधिक धार सञ्चालनमा सङ्कट आएको विद्यालयका प्रधानाध्यापक दीपक खड्काले जानकारी दिनुभयो । 

उहाँका अनुसार तीन वर्षअघि गाउँपालिकाको पहलमा सीटीईभीटीबाट स्वीकृत भई सञ्चालनमा आएको हो । पहिलो वर्ष कोटा ४० मध्ये २५ जना भर्ना भई अध्ययन गरेर उत्तीर्ण भई गइसकेका छन् । दोस्रो वर्ष ११ जना मात्र भर्ना भएर अध्ययनरत छन् । यो वर्ष अहिलेसम्म छ जना मात्र आएका छन् । विद्यार्थी कम भए पनि शिक्षक पूरा चाहिने हुँदा व्यवस्थापनमा समस्या भइरहेको छ ।  

गत वर्ष सीटीईभीटीबाट दुई शिक्षक अनुदान र सामान खरिदका लागि १२ लाख रुपियाँ आएको थियो । प्रधानाध्यापक खड्काले भन्नुभयो, “यो वर्ष आउने नआउने अहिलेसम्म टुङ्गो छैन । पाँच जना पूर्ण र दुई जना आंशिक तलबका शिक्षक रहेका छन् । शिक्षकलाई मात्र मासिक चार लाख चार हजार ४३५ रुपियाँ चाहिन्छ । विद्यार्थीबाट तीन वर्षको लागि प्रतिविद्यार्थी डेढ लाख रुपियाँ आउँछ । आम्दानीभन्दा खर्च बढी भएकाले सञ्चालनमा सङ्कट हुँदै आएको छ ।” 

छात्रवृत्तिका लागि भनेर गाउँपालिकाबाट पाँच र वडाबाट तीन लाख गरी आठ लाख रुपियाँ वार्षिक आउने गरेको छ । यही रकमबाट स्थानीयवासीलाई वार्षिक ३० हजार र बाहिरबाट आएकालाई २० हजार छात्रवृत्ति दिने गरिएको छ भने बाँकी रकम विद्यार्थीकै शुल्कमा समायोजन गर्ने गरिएको उहाँले स्पष्ट पार्नुभयो । 

यहाँ स्थानीय विद्यार्थी भर्ना हुन आउँदैनन् । भर्ना भएकामा हुम्लाका चार, मुगुका दुई र चितवन, सिन्धुपाल्चोक र रामेछापका गरी पाँच जना रहेका छन् । सबै ठाउँमा प्राविधिक धार खुल्दै जान थालेका छन् । उहाँले भन्नुभयो, “बाहिरका पनि नआउने हो भने बालीविज्ञान विषयमा शून्य हुने हो कि भन्ने चिन्ता बढेको छ । राम्रो अङ्क ल्याउने अन्यत्र पढ्न जाने, अङ्ग्रेजी, विज्ञान र गणितमध्ये दुईमा ‘सी’ र एकमा ‘डी’ प्लस आएकाले मात्र यो धारमा अध्ययन गर्न पाउने प्रावधानले पनि विद्यार्थी भर्नामा कमी भएको हो ।” 

छात्राका लागि होस्टेल निःशुल्क उपलब्ध छ । छात्रका लागि पनि यहीँ नजिकै सुलभ भाडामा बस्ने व्यवस्था मिलाइएको भए पनि विद्यार्थी अन्यत्र भर्ना भइसकेकाले यो वर्ष छ जना मात्र हुने देखिएको छ ।