• २३ वैशाख २०८१, आइतबार

मानव बेचबिखनको बदलिँदो रूप

मानव तस्करको जालमा महिला र पुरुष दुवै फस्दै

blog

काठमाडौं, भदौ २० गते । नेपालमा १६औँ मानव बेचबिखन विरुद्धको दिवस मनाइरहँदा मानव बेचबिखन हुने प्रकृतिमा पनि बदलिएको छ ।

पहिला यौन शोषणका लागि महिला बेचिने घटना आउने गरेका थिए तर अहिले पुरुष पनि बेचिन थालेका छन् । त्यतिमात्रै होइन आफैं पैसा दिएर मानव तस्करसँग जानी जानी पनि फस्ने गरेको पाइएको छ । ‘तीनै तहको सरकार र मानव बेचबिखनविरुद्धको सरोकार’ नारासहित १६ औँ मानव बेचबिखन दिवस काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । 

मानव बेचबिखनविरुद्धमा सक्रिय रहेको माइती नेपालका कार्यकारी निर्देशक विश्व खड्काका अनुसार, विभिन्न वैदेशिक रोजगारमा पठाउने व्यक्तिहरूले नेपाली महिलासँगै पुरुष पनि कामको सिलसिलामा खाडी मुलुक र अन्य देशमा पनि बेचिन पुग्छन् । 

जस्तै, अमेरिका पुग्नकै लागि सयौँ दिन ट्रक र कन्टेनरमा सुतेर जाने गर्छन् । सुरुमा सहमतिमा पैसा तिरेर म यो ठाउँमा काम गर्न जान्छु भनेर जाने र पछि त्यहाँ सहमति अनुसार आफूले पाउनुपर्ने सेवा सुविधा, बस्ने खाने सुविधा काम गर्ने तरिका, श्रम शोषणका कुरासँग जोडिएपछि बेचबिखन भयो भन्ने कुरा आउने गर्छ । 

मानव बेचबिखन नियन्त्रण गर्नका लागि रोजगारीमा पठाउने सरकार र रोजगारी दिने सरकारले पनि ध्यान दिने र कानुनलाई कार्यान्वयनतिर लैजाने हो भने यस्ता घटना हुने थिएनन् । रोजगारीका पठाए मानव बेचबिखनमा संलग्न एजेन्टलाई कारबाहीको दायरामा ल्याउने हो भने बेचबिखनको समस्या नआउने विश्वास कार्यकारी निर्देशक खड्काको छ । 

हिजोसम्म नपढेका अशिक्षित गाउँका गरिब केटाकेटीलाई यौन शोषणका लागि प्रयोग गर्ने गर्थे आज पढेलेखेका शिक्षित मानिसलाई पनि आफ्नै स्वेच्छाले काममा जान्छु भन्दा पनि झुक्क्याएर र लोभ देखाएर बेचबिखनसम्म पुर्याउने प्रचलन बढेको छ। 

यसरी मानव बेचबिखनको स्वरूप बदलिएको हो । यसमा सरकारले पनि गम्भीर रूपमा सोच्नुपर्ने हुन्छ । उद्धारपछिका कानुनी परामर्शका लागि सहयोग गर्ने माइती नेपालले गर्छ भने नीति नियम बनाउने र यसको कार्यान्वयन गराउने राज्यको हो । 

भारतमा भन्दा अन्यत्र बढी 

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लका अनुसार गरिबीको समस्या भएका ग्रामीण भेगका मानिस मानव तस्करको जालमा पर्ने गर्छन् । उहाँ भन्नुहुन्छ, “गरिबी र आर्थिक भारबाट मुक्ति पाउन महिला पुरुष दुवै वैदेशिक रोजगारमा जान खोज्छन् र आफू तस्करीमा पर्नका लागि आफैँले पैसासमेत बुझाएका हुन्छन् ।” 

श्रमिकको कामका लागि मलेसिया र बसाई सर्नका लागि गएका पनि मानव तस्करमा पर्ने गर्छन् । “नेपालीहरू विदेशमा घरजम गर्ने सोचमा पनि विदेश जाने गर्छन् । धेरै लामो समय विदेशमा अड्किने कारणले लिबियामासमेत हराएका छन् नेपालीहरू”, उहाँ भन्नुहुन्छ, “यसबाहेक डान्स बार र रेस्टुरेन्टमा काम गराउने नाममा अफ्रिकासम्म नेपाली चेलीहरू बेचिने गर्छन् ।” 

मल्लले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “म सिआईबीमा हुँदा नेपालबाट केटीहरू चिनियाँ नागरिकसँग बिहे गरेर जान्थे र बेचबिखनमा परेपछि भागेर आएकोसम्म अभिलेख छ ।’’

उहाँका अनुसार, पहिले जस्तो वेश्यावृत्ति कामका लागि भारतमा लगेर बेच्ने चलन अहिले छैन । अचेल भारतमा भन्दा बढी अन्य देशमा नेपाली महिला बेचिने गर्छन् ।  

“गरिबी र आर्थिक भारबाट मुक्ति पाउन महिला पुरुष दुबै वैदेशिक रोजगारमा जान खोज्छन् र आफू तस्करीमा पर्नका लागि आफैंले पैसासमेत बुझाएका हुन्छन् ।” 

मल्लका अनुसार नेपालका महिला यौन व्यवसायका लागि बेचबिखनमा पर्ने प्रमुख कारक नै अशिक्षा र गरिबी हो । सरकारको पनि यस विषयमा निगरानी पुग्न सकेको छैन । जुन किसिमले यो अपराध बढ्दै गएको छ, त्यो किसिमले सरकारले ध्यान दिन नसकेको उहाँको भनाइ छ ।  

विदेशमा फसेका मानिसहरु उद्धारमा समस्या छ भने कानुन कार्यान्वयन र न्यायमा पनि समस्या छ । मानव बेचबिखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाले सचेतना जगाउने र सीमावर्ती क्षेत्रमा जाँच र परामर्श गर्ने हुँदाहुँदै पनि बेचिएका महिलाको उद्धार हुन नसकेको मल्ल बताउनुहुन्छ । 

पुरुषहरु पनि बेचिन्छन् 

सामान्य भाषामा मानव बेच्ने भन्ने बित्तिकै मानिस पनि बेचिन्छ र भन्ने आम मानिसको मनस्थितिमा आउने गर्छ । नेपालका महिला मात्र नभएर पुरुषहरु पनि बेचबिखन हुने गरेको तथ्यांकले दखाउँछ । 

नेपालमा मानव बेचबिखन विरुद्धमा काम गर्ने जति नै संघ संस्था सञ्चालनमा आए पनि यो समस्या भने अझै घटेको पाइदैन । वैदेशिक रोजगारका नाममा नेपालका महिलालाई विभिन्न प्रलोभन देखाएर विभिन्न देशमा बेच्ने गर्छन् । 

सीमापारि बेचबिखन अहिले व्यापक रुपमा तेस्रो मुलुक वा अफ्रिकन मुलुकमा पुगेको छ । आन्तरिकरुपमै महिला र बालबालिहरुमाथि कार्यस्थलमा हुने यौन शोषण र दु¥व्यवहार पनि बढ्दै गएको पाइन्छ । 

विभिन्न व्यवसायको नाममा व्यावसायिक प्रतिष्ठानमा कार्य गर्ने महिलामाथि यौन शोषण हुने र देह व्यापारमा लगाउने घटना बाहिर आउन थालेका छन्, जसले गर्दा यसको आयाम पनि बढ्दै गएको छ । यसबाहेक मानव बेचबिखनको परिभाषा गर्ने हो भने यसको क्षेत्रमा श्रम र शोषण पनि पर्दछन् । 

यसै अनुसार परम्परागत रुपमा हुने बेचबिखनमा भने केही कमी आएको माइती नेपालको तथ्यांकले देखाएको छ । भारतका विभिन्न तहहरुमा हुने विभिन्न प्रकृतिका बेचबिखनमा कमी आएको पाइन्छ तर आन्तरिकरूपमा यसको वृद्धि भएको देखिन्छ । 

‘भिजिट भिसा’ मा मानव तस्करी

वैदेशिक रोजगारीका नाममा खाडी मुलुकमा हुने ठगी र बेचबिखन बढ्ने क्रम भने जारी नै छ । यसैगरी, समय अनुसार बेचबिखनको नाममा पनि धेरै थरीका परिवर्तन आएका छन् । अचेल ‘भिजिट भिसा’ को सहायताले पनि मानव तस्करी बढेको पाइन्छ । 

नेपालबाट वैदेशिक रोजगारमा जाने महिलाका लागि श्रम स्वीकृति नै बन्द गरेको अवस्थामा नेपाली महिलालाई एजेन्टहरुले भारतीय भूमि हुँदै वर्मा र श्रीलंका हुँदै लगेको देखिएको छ । माइती नेपालको तथ्याङ्क अनुसार २०१९ मा त्यहाँबाट १७९ जना उद्धार गरेर फर्काइएको छ । 

माइती नेपालले भारतको सिमानामा बसेर काम गर्छ जसले वर्षको तीन हजारभन्दा बढी संख्यामा यस्ता जोखिमपूर्ण यात्रा गर्ने दिदीबहिनीलाई उद्धार गरेर आफ्नो देश फर्काउने गर्छ । 

विश्वव्यापी रुपमा लागू औषध, हातहतियार पछि मानव बेचबिखन भन्ने गरिन्थ्यो तर अहिले मानव बेचबिखन सबैभन्दा धेरै आम्दानी गर्ने व्यवसायको रुपमा विश्वव्यापी चलेको देखिन्छ । 

संयुक्त राष्ट्रसंघले पनि मानव बेचबिखनलाई धेरै आम्दानी हुने व्यवसायको रुपमा चल्ने उपनाम दिएको छ । किनभने कम लगानी वा बिना लगानी नै यसमा धेरै फाइदा हुने गरेको छ । सबै मानिसका आफ्ना हरेक इच्छा र चाहना हुन्छन् । जसलाई जोखिम मोलेर भए पनि आफ्नो परिवारको आर्थिक स्थिति राम्रो गराउने सपना बोकेर हामी हिँड्ने गर्छौं र यस्ता मानिसलार्ई एजेन्टले आफ्नो जालमा फसाएर ठगी गर्ने र दुर्व्यवहार गर्ने प्रवृत्ति बढ्दो छ ।