• २५ असार २०८१, मङ्गलबार

बढ्दै छन् ‘बेसमेन्ट पार्किङ’सहितका संरचना

blog

नवराज कट्टेल

विराटनगर, भदौ २० गते । विराटनगरमा पछिल्लो समयमा बनेका व्यापारिक भवनले ‘बेसमेन्ट पार्किङ’ प्रयोजन खुलाएर नक्सा पास गरे पनि सडकमा रोकिएका सवारीका कारण जाम हुने गरेको छ। महानगरको क्षेत्राधिकारका सडक मात्रै नभई विराटनगरको बजार क्षेत्रमा राष्ट्रिय राजमार्गअन्तर्गत रानी–धरान सडकखण्डसमेत सवारी पार्किङस्थल बन्ने गरेको छ। 

विराटनगरमा पार्किङ व्यवस्थापनको काम गर्न जरुरी छ भन्ने अहिलेसम्म स्थानीय सरकारले बुझ्न सकेको छैन। निश्चित क्षेत्रका लागि तोकिएका पार्किङ स्थल नहुँदा महानगर क्षेत्रमा सवारी आवागमन नै अवरुद्ध हुनेगरी सडकको जाम छिचोल्न असहज बन्दै गएको हो। 

विराटनगर महानगरपालिका घर नक्सा शाखाको तथ्याङ्कअनुसार हालसम्म १२ वटा व्यापारिक भवनले ‘बेसमेन्ट पार्किङ’सहितको नक्सा स्वीकृति लिएका छन्। घर नक्सा शाखाका प्रमुख राकेश ठाकुरका अनुसार विराटनगरमा ठूला होटल, कलेज तथा नयाँ बन्दै गरेको गोल्डेनबाहेक अन्य हस्पिटलमा यस्तो सुविधा छैन। नोवेलको आफ्नै पार्किङ क्षेत्र छ तर बजारमा रहेका ठूला अस्पतालको पार्किङ सडकमै हुने गरेको छ। सानो क्षेत्र भाडामा लिएर आफ्नै कर्मचारी र स्वास्थ्यकर्मीको पार्किङ व्यवस्थापन मात्रै गरिँदै आएको छ। 

राष्ट्रिय राजमार्गलाई पहुँच बनाएर बनेको व्यापारिक महल भाटभटेनी सुपरस्टोरले ‘डबल बेसमेन्ट पार्किङ’सहितको संरचना बनाएको छ। दैनिक भाटभटेनी पुग्ने सेवाग्राहीले पार्किङको सुविधा उपयोग गर्दै आएका छन्। भाटभटेनी उत्तरमा बन्दै गरेको नयाँ सेन्चुरीयन महल, शुभ इन्टरप्राइजेजले नक्सा पास गराउँदा बेसमेन्ट पार्किङको स्वीकृति लिएका छन्। यी दुई महल सञ्चालनमा आइसकेका छैनन्। 

विराटनगरको सेन्ट्रल महलमा समेत बेसमेन्ट पार्किङ सुविधा छ। त्यहाँ पुग्ने सेवाग्राहीले सडकमा सवारी रोक्नुपर्ने अवस्था छैन। यस्तै हाटखोलामा रहेको आर.के.सिटी महलमा समेत यो सुविधासहितको नक्सा स्वीकृति लिइएको ठाकुरले जानकारी दिनुभयो। 

महेन्द्रचोकमा रहेको पहिले नेपाल बजार बसेको भवनसमेत पार्किङ सुविधासहितको छ। त्यो भवनमा अहिले बैङ्कलगायतका संस्था छन्। उक्त भवनमा अन्डरग्राउन्ड पार्किङ सुविधा रहे पनि पश्चिमतर्फको सडकमा पार्किङ हुने गरेको छ। महेन्द्रचोकपूर्व बनेको हीरा–शान्त भवनमा समेत बेसमेन्ट पार्किङ सुविधा छ। यस भवनमा बैङ्क तथा वित्तीय संस्थाहरू भाडामा बसेका छन्। यसैगरी जलजला चोक पश्चिममा गोपाल श्रेष्ठको घरसमेत बेसमेन्ट पार्किङ सुविधासहितको नक्सा पास गराएर निर्माण गरिएको छ। हाल उक्त घरमा लक्ष्मी बैङ्कसहितका संस्था भाडामा बसेका छन्। 

घरनक्सा शाखाका प्रमुख ठाकुरले विराटनगरमा अब बन्ने व्यापारिक भवनमा ‘बेसमेन्ट पार्किङ’ अनिवार्य भइसकेको बताउनुभयो। उहाँले नक्सा पास गराउँदाको प्रयोजनविपरीत पार्किङ क्षेत्र अन्य प्रयोजनमा प्रयोग गरेको भएमा अनुगमन गरेर कारबाही हुने दाबी गर्नुभयो। व्यापारिक प्रयोजनका घरले सेवाग्राहीलाई पार्किङ सुविधासहितको संरचना बनाउने क्रम बढ्दै गए पनि महानगरपालिकाले भने सार्वजनिकस्तरको पार्किङ क्षेत्र निर्माण गर्न सकेको छैन। जसका कारण विराटनगरसँग दैनिकी जोडिएका व्यापारीदेखि सेवाग्राहीसम्म पार्किङका लागि सडक रोज्दै आएका छन्।