• १३ साउन २०८१, आइतबार

सडक निर्माणमा ढिलाइ

blog

चरीकोट समाचारदाता

चरीकोट, भदौ १९ गते । दोलखाको शैलुङ गाउँपालिका कार्यालय पुग्ने सडक हिउँदमा धुलाम्मे र वर्षायाममा हिलाम्मे हुने गरेको छ । मुडेदेखि गाउँपालिका कार्यालय हुँदै ढुङ्गेसम्म पुग्ने सडक निर्माण कम्पनीले अलपत्र पार्दा मुडे हुँदै राजधानी काठमाडौँलगायतका जिल्लामा आवतजावतमा स्थानीयले सास्ती बेहोर्नुपरेको छ । 

सडकको दुरवस्थाका कारण कार्यालय आउजाउ गर्न समस्या भएको जनसचेतना सहकारीमा कार्यरत सन्तोष भुजेलले बताउनुभयो । कतिपय स्थानमा हिलोले मोटरसाइकल धकेलेर यात्रा गर्नुपर्ने अवस्था छ कार्यालय पुग्दा आफूले लगाएको कपडा र जुत्ता हिलोले हेरिनसक्नु हुने गरेको उहाँले गुनासो गर्नुभयो । सडक जीर्ण भएकाले शैलुङ क्षेत्रमा उत्पादित तरकारी बजार पु-याउनै समस्या भएको र ढुवानी लागत बढेकाले तरकारीको उचित मूल्य पाउन नसकेको किसानको भनाइ छ । 

मुडे–देउराली सडकखण्डमा सवारीसाधन चल्न थालेको करिब २२ वर्ष पुगेको छ । मुडेदेखि ढुङ्गेसम्म १६ किलोमिटर सडक कालोपत्रे गर्ने गरी भौतिक पूर्वाधार कार्यालय, सिन्धुपाल्चोकले ३१ करोड ७५ लाख रुपियाँमा महालक्ष्मी निर्माण, द कन्चनजङ्घा र शुभकामना जेभीसँग दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७६ साल असारमा सम्झौता गरेको थियो । तर, तोकिएको समयमा सडक निर्माण सम्पन्न नभएपछि दुई पटक म्याद थपिएको थियो । 

उता शैलुङ गाउँपालिकाका अध्यक्ष रिमालबाबु श्रेष्ठ निर्माण कम्पनीसँग पटक–पटक सम्पर्क गर्दा काम गर्छु भन्दै झुक्याउने गरेको बताउनुभयो । केही दिनअगाडि निर्माण कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्दा तत्कालै काम गर्ने बताएको छ, उहाँले भन्नुभयो । यसैबीच पूर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका कार्यालका प्रमुख राजु श्रेष्ठले कार्यालयले निर्माण कम्पनीलाई पत्राचार गरेको भन्दै कम्पनीले ग्राबेल र डन्डी झारिसकेकाले दशैँअगाडि ढलान सुरु हुने बताउनुभयो ।