• १९ असार २०८१, बुधबार

‘अन्डरग्राउन्ड’ खाली गर्न सूचना जारी

blog

सन्तोष सुवेदी

कास्की, भदौ १४ गते ।  पोखरा महानगरपालिकाले पार्किङ प्रयोजनका लागि अनुमति लिएका भवनलाई भूमिगत तला खाली गर्न ‘अल्टिमेटम’ दिएको छ। महानगरले सार्वजनिक सूचना निकालेर ३५ दिनभित्र भूमिगत तला खाली गरी पार्किङ प्रयोजनमा ल्याउन भनेको छ।

पोखराको मुख्य बजार क्षेत्र न्युरोड, चिप्लेढुङ्गा र महेन्द्रपुलका भवनको भूमिगत तलामा मोबाइल पसल, फर्निचर, कपडा पसल, गोदाम, रेस्टुरेन्ट, दोहोरी साँझलगायतका व्यवसाय चल्दै आएका छन्। 

पोखरा महानगरपालिकाभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तलासहितका भवनहरूको भूमिगत तलालाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोजनमा प्रयोगमा ल्याउनुभएका घरधनीलाई आजको मितिले ३५ दिनभित्र खाली गरेर पार्किङका रूपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ। अन्यथा कानुनबमोजिम हुने बेहोरा जानकारी गराइने सूचनामा भनिएको छ।

२०७४ सालमा निर्वाचित जनप्रतिनिधिहरूले पार्किङलाई व्यवस्थित गर्न अन्डग्रान्ड खाली गर्न सूचना जारी गरे पनि त्यो सम्भव भएन। बरु पार्किङ शुल्क उठाउने ठेक्का लगाइयो। त्यो ठेक्काले पनि नागरिकले करतिरे अनुसार पार्किङको समस्या जस्ताको तस्तै रह्यो।

पोखरा महानगर प्रमुख धनराज आचार्यले आन्डरग्राउन्ड पार्किङ अनुमति लिएर अन्य पेसा व्यवसाय गर्नेले समयमै अन्डरग्राउन्ड ओगट्ने व्यवसाय वा अरु सामान नहटाए महानगरले नै हटाउने बताउनुभएको छ। महानगरले घरधनीलाई दोस्रोपटक ३५ दिनको समय दिएका हो। सो अवधिमा आफैँले खाली नगरे उनीहरूकै खर्चमा महानगरपालिकाले हटाउने बताउनुभयो।

महानगरको मुख्य चोकमा निर्माण हुने घरले अहिले अन्डरग्राउन्ड बनाउनै पर्ने व्यवस्था छ। नत्र त्यो नक्सा पास नहुने प्रमुख आचार्यको भनाइ छ। महानगरले आर्थिक वर्ष २०७६/७७ देखि अन्डरग्राउन्ड पार्किङसहित घर वा भवनको नक्सापास गर्दा दस्तुरमा एक तलाको राजस्व छुट दिने व्यवस्था गरेको थियो। 

यो आर्थिक वर्षमा अन्डरग्रान्डको पार्किङ गर्नेलाई भुइँतलाको ५० प्रतिशत छुट दिइएको छ। तर, राजस्व छुट लिए पनि महानगरभित्रका २५० भन्दा बढी घरले व्यापार व्यवसाय सञ्चालन गर्दै आइरहेका छन्। लेकसाइडका प्रायः होटलले भूमिगत तलालाई पार्किङ बनाए पनि मुख्य बजार क्षेत्र पृथ्वीचोक, महेन्द्रपुल, न्युरोड, चिप्लेढुङ्गाका घरका भूमिगत तला व्यावसायिक प्रयोजनमा प्रयोग हुँदै आएको छ।  पोखरामा अन्डरग्राउन्डको अनुमति लिएर पालना नगर्ने सबैभन्दा बढी चिप्लेढुङ्गा, महेन्द्रपुल र न्युरोडका व्यवसायी छन्। अन्डरग्राउन्डको अनुमति लिएका घरले महानगरको मापदण्ड पालना नगर्दा उनीहरूलाई समेत आफ्नै साधन राख्ने ठाउँ नहुने आचार्यले बताउनुभयो।

भवन आचारसंहितामा अन्डरग्राउन्ड पार्किङ प्रयोजनकै लागि प्रयोग गर्नुपर्ने व्यवस्था छ। अहिलेसम्म एक चौथाइ घरले पनि महानगरको मापदण्ड पालना नगरेको पोखरा महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले बताउनुभयो। 

न्युरोड, नयाँबजार, महेन्द्रपुल, चिप्लेढुङ्गा अन्डरग्राउन्डको पालना नभएको क्षेत्र हो। यहाँ मात्र करिब ३० घरले अन्डरग्राउन्ड पार्किङ पालना नगरेको पाइएको छ। पोखरामा अन्डरग्राउन्ड पार्किङ पालना गर्ने करिब ६० घर छन्। 

“पोखराका कोर एरियामा २५० वटा मात्र कार राख्न सक्ने क्षमता भएकाले समस्या बढ्दै गएको छ। न्युरोड एरियामा कार राखेपछि बाइक राख्न मिल्ने ठाउँ नै भेट्न कठिन छ,” प्रमुख आचार्यले भन्नुभयो। उहाँका अनुसार बजारमा चल्ने आठ सय सार्वजनिक बस, २५ सयभन्दा बढी दुईपाङ्ग्रे सवारी एक ठाउँमै पार्किङ गर्नुपर्ने बाध्यता छ।