• १३ साउन २०८१, आइतबार

सौर्य बत्तीको बेवास्ता ‘स्मार्ट लाइट’ को योजना

blog

सन्तोष सुवेदी

कास्की, भदौ १३ गते । पोखरा महानगरको तथ्याङ्कअनुसार हालसम्म महानगरका क्षेत्रमा दुई हजार सडक बत्ती जडान भएका छन् तर जडान भई नियमित मर्मत सम्भार नहुँदा अधिकांश सडक बत्ती बल्न छाडेका छन्। महानगरले सडक बत्ती जडानमा अहिलेसम्म ३० करोडभन्दा बढी खर्च गरिसकेको छ। 

नौ वर्ष पहिले महानगरका विभिन्न क्षेत्रमा पहिलो पटक सौर्य सडक बत्ती जडानको थालनी गरिएको थियो। सुरुमा पर्यटकीय क्षेत्र लेकसाइडसहित मुख्य बजार क्षेत्र न्युरोडमा मात्र जडान गरिएको थियो। महानगरले एक पटक आफैँले र एक पटक चीन सरकारको सहयोगमा सडक बत्ती राखेको थियो। पोखरामा सौर्य सडक बत्ती जडान हुँदाताका लोडसेडिङ थियो। लोडसेडिङ हुँदा अँध्यारो भएको मौका पारेर अवाञ्छित गतिविधि हुने गरेको गुनासोपछि नगरवासीको सुरक्षाका लागि भन्दै त्यो बेला सौर्य सडक बत्ती जडान गरिएको थियो।

पोखराको न्युरोड र लेकसाइडका केही क्षेत्रमा जडान भएकोमा २०७३ सालमा विजयपुरदेखि हल्लनचोक, बुद्धचोकदेखि वन क्याम्पस, पृथ्वीचोकदेखि शहीदचोक, अमरसिंह चोकदेखि महेन्द्रपुललगायत स्थानमा चीनको सहयोगमा राखिएका सडक बत्तीका खम्बा अझै छन्। सडक बत्ती जडानका लागि चीन सरकारले १५ करोड रुपियाँ लगानी गरेको थियो। सडक बत्ती मर्मत सम्भार गर्न पनि महँगो पर्ने भएकाले अधिकांश बिग्रिसकेको महानगरपालिका प्रमुख धनराज आचार्य बताउनुहुन्छ। उहाँका अनुसार बिग्रिएका सडक बत्ती मर्मत गर्न ५० लाख रुपियाँभन्दा बढी खर्च लाग्नेछ। 

महानगरले मर्मत सम्भारमै धेरै रकम खर्च हुने भन्दै नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा ‘स्मार्ट लाइट’ योजना अघि सारेको छ। महानगर र विद्युत् प्राधिकरणको ५०/५० प्रतिशत लगानीमा सडकमा बत्ती जडान हुनेभएको छ। महानगर प्रमुख आचार्यका अनुसार पुराना सौर्य सडक बत्ती यथावत् रहने र बीचबीचमा विद्युतीय सडक बत्ती थप्दै जाने योजना छ। तिहारअघिसम्म एक हजार पाँच सय चारवटा सडक बत्ती जडान गर्ने गरी तयारी रहेको आचार्यले सुनाउनुभयो। महानगर प्रमुख आचार्य र प्राधिकरण पोखराका प्रमुख प्रमोद रिजालले पोखराको जिरो किमिचोकमा योजनाको शिलान्याससमेत गरिसक्नुभएको छ।  

‘उज्यालो पोखरा’ नाम दिइएको उक्त अभियानअन्तर्गत उच्च प्रविधियुक्त १६ मिटर अग्लो हाइमास्ट लाइट २३ वटा जडान गरिने प्रमुख आचार्यले जानकारी दिनुभयो। स्मार्ट लाइट जडानका लागि टप्सन इनर्जीलाई १२ करोड ७५ लाखमा ठेक्का दिइएको छ। 

महानगरका मुख्य सडक तथा चोकमा एक सय २० वटा र बाँकीमा ९० वाटको बत्ती प्रयोग गरिनेछ। अधिकांश पहिलेकै खम्बा प्रयोग गरिने भएकाले जम्मा चार सय २४ वटा मात्रै नयाँ खम्बा थपिने जनाइएको छ। विद्युत् प्राधिकरणका प्रमुख रिजालका अनुसार मापदण्डअनुसार प्रत्येक ३० मिटरमा बत्ती राख्नुपर्छ तर पोखरामा ५०/ ६० मिटरमा खम्बा भएकाले त्यसको बीचमा मात्रै थपिनेछ। महानगरका सडकमा स्मार्ट सडक बत्ती र व्यस्त चोकमा हाइमास्ट लाइट जडान गरिने गरी गत कात्तिकमा पोखरा महानगरपालिका र विद्युत् प्राधिकरणबीच सहमति भई काम अघि बढेको थियो। पोखरा महानगरपालिकाले नगरको ८० किलोमिटर क्षेत्रभित्र स्मार्ट बत्ती जडान गर्ने र महानगरभित्रका व्यस्त ३० चोकमा ‘हाइमास्ट लाइट’ जडान गर्नेछ।

पोखरामा जडान गर्न लागिएको ‘स्मार्ट लाइट’ ललितपुर महानगरबाट सुरु गरिएको विद्युत् प्राधिकरण पोखराका प्रबन्धक प्रमोद रिजालले बताउनुभयो। “सडक उज्यालो बनाउन सुरुमा सौर्य बत्ती जोडिएको थियो तर त्यसले लक्ष्यअनुसार काम गर्न सकेन। चाँडै बिग्रिने र मर्मतमा पनि उस्तै खर्च गर्नु पर्ने देखियो,” रिजालले भन्नुभयो, “सडक उज्यालो पार्ने दिगो उपाय खोज्दै जाने क्रममा यो विधि फेला पारेका हौँ।” उहाँका अनुसार सबै बत्तीमा स्वचालित प्रणाली अर्थात् बेलुकी अँध्यारो भएपछि बल्ने र उज्यालो भएपछि आफैँ निभ्ने हुन्छन्।