• १२ असार २०८१, बुधबार

एकीकृत समाजवादी अछामद्वारा उम्मेदवार सिफारिस

blog

शिवराज ढुंगाना 

अछाम, भदौ १२ गते । आउँदो निर्वाचनलाई लक्षित गरी नेकपा (एकीकृत समाजवादी) ले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । सदरमुकाम मंगलसेनमा आइतबार पार्टीको जिल्ला कमिटी बैठकले दुई प्रतिनिधिसभा र चार प्रदेशसभामा उम्मेदवारको नाम सिफारिस गरेको जिल्ला इन्चार्ज कुलबहादुर कुँवरले जानकारी दिनुभयो । 

प्रतिनिधि सभामा दुई निर्वाचन क्षेत्र रहेको अछाममा क्षेत्र १ बाट बर्तमान श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री शेरबहादुर कुँवरको एकल नाम सिफारिसमा गरेको छ । सोही पार्टीले क्षेत्र २ मा पार्टीका जिल्ला उपसचिव नमराज न्यौपानेको नाम सिफारिस गर्ने निर्णय गरेको सो दलले जनाएको छ । 

यस्तै, प्रदेशको प्रत्यक्ष निर्वाचनका लागि अछाम –१ को ‘क’ प्रदेशमा कुलबहादुर कुँवर र हिक्मत कुँवरलाई सिफारिस गरिएको छ । कुलबहादुर समाजवादीका केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज हुनुहुन्छ । ‘ख’ प्रदेशमा जिल्ला अध्यक्ष हिरण्ड भट्टराई र रत्ना तामाङ सिफारिसमा पर्नुभएको छ ।  

अछाम–२ को प्रदेश ‘क’ डबल चलाउने, दुर्गा बोहरा र दीपक विष्ट सिफारिसमा पर्नुभएको छ । यस्तै ‘ख’ प्रदेशमा केन्द्रीय सदस्य शंकर भण्डारी, जिल्ला सचिव नवराज साउँद र जिल्ला उपसचिव नयन सोडारी उम्मेदवारका लागि सिफारिस हुनुभएको छ ।  

प्रतिनिधिसभाको समानुपातिकतर्फ बिन्द्रा साउँद, बलबहादुर सोडारी, योगेन्द्र विष्ट र भक्त शाही उम्मेवारका लागि सिफारिसमा पर्नुभएको छ । प्रदेश सभाको समानुपातिक उम्मेदवारमा मिना साउँद, जितबहादुर निसानी, डम्बर नेपाली, हर्कबहादुर साउँद, बिर्मला बुढथापा, जयन्ती बोगटीको नाम सिफारिस भएको छ ।  

यस्तै प्रदेशको समानपातिकतर्फ उम्मेदवार बन्न देवकला चलाउने, केसरी रेग्मी, कृष्णा न्यौपाने, इन्द्र जयगडी र कल्लानसिंह बोगटी रहनुभएको छ ।