• १३ साउन २०८१, आइतबार

बलेनीको पानीबाट मुक्त आमा

blog

अर्जुन काफ्ले 

स्याङ्जा, भदौ १२ गते । खिया लागेको टिनको छाना, त्यही टिनको छानाबाट खसेको बलेनीको पानीले भरिएका तीनवटा गाग्री। आँगनभरि झारैझार र काँक्रोको झाल। त्यही घरमा ८० वर्षीय वृद्धा एकल महिलाको बसोबास छ। 

बलेनीको पानी बस्तुभाउलाई खुवाउन र कपडा धुनका लागि मात्र प्रयोग गर्न सकिन्छ तर अर्जुनचौपारी–५, काउरेकी वृद्धा पूर्णकला पौडेलले भने विगत सात वर्षबाट बलेनीको पानी पिउँदै आउनुभएको छ।  तीन छोरीको विवाह र श्रीमान्को निधन भएपछि १२ वर्षबाट एक्लै बस्दै आउनुभएकी वृद्ध पौडेल शारीरिक रूपमा अशक्त भएपछि सात वर्षदेखि बलेनीको पानी खाएर जीवन निर्वाह गरिरहनुभएको छ। 

उहाँ छिमेकीको घरसम्म पुगेर पानी ल्याउन नसक्ने अवस्थामा पुगेकाले बलेनीको खानेपानी खानुपरेको हो।

बलेनीको पानी पिउनयोग्य नभए पनि उहाँको तिर्खा मेट्ने आधार त्यही भएको प्रत्यक्षदर्शी बताउँछन्। गाउँमा धेरैको घरमा पानीको धारा जडान हुँदा वृद्ध आमा पौडेल सधैँ छुट्नुहुन्थ्यो। 

तर, यस पटक अर्जुनचौपारीका जनप्रतिनिधिले तिनै वृद्धा आमाको आँगनमा खानेपानीको धारा जडान गरिदिएका छन्। 

‘बर्सातमा बलेनी र हिउँदमा छिमेकीको भरमा खानेपानी’ शीर्षकमा कहीँकतैबाट सूचना सार्वजनिक भएपछि पालिकाले चासो लिँदै खानेपानीको धारा निर्माणमा सहयोग गरेको हो।  पालिका उपाध्यक्ष सपना गुरुङले खानेपानीको धारा जडान गरिदिनुका साथै चिनी, दाल, साबुन, नुन र चामललगायत खाद्य सामग्री प्रदान गर्नुभएको छ। 

घरबाट पाँच÷दस मिनेट टाढा खानेपानी भए पनि अशक्तताका कारण आकाशको पानी कुर्नु परेको दुःख सुनाउँदै पौडेलले घरको आँगनमा पानीको धारा झरेसँगै हर्षका आँसु खसाल्नुभयो। 

वृद्धा आमाको पालिकाले नै रेखदेख र संरक्षण गर्ने पालिका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो। अशक्त वृद्ध र पूर्ण अपाङ्गता भएकाको सहयोगका लागि पालिकाको ढोका खुला रहेको तिवारीले बताउनुभयो।