• १३ साउन २०८१, आइतबार

ऐनमै खेलाडीको पुरस्कार सुनिश्चित गरेका छौं : मन्त्री अथक

blog

प्रशिक्षक अभिमुखिकरण कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) । तस्बिर : युवा तथा खेलकुद मन्त्रालय

कोहलपुर, भादौ ११ गते । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ऐनमै खेलाडीको सम्मान तथा पुरस्कार सुनिश्चित गरिएको बताउनुभएको छ । युवा तथा खेलकुद मन्त्रालयले खेलाडी पुरस्कार तथा सम्मान कार्यविधि संशोधन गरेसँगै खेलकुद नियमावलीमै गाभेर पुरस्कार कार्यविधि लागु गर्न लागेको मन्त्री अथकले जानकारी दिनुभयो । 

राष्ट्रिय तेक्वान्दो सङ्घले शुक्रबारदेखि बाँकेको कोहलपुरमा संचालन गरेको दुई दिने प्रशिक्षक अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अथकले पुरस्कार कार्यविधि मार्फत सरकारले खेलाडीको पुरस्कार तथा सम्मान रकम सुनिश्चित गरेको बताउनुभएको हो । 

राष्ट्रको लागि आफ्नो जीवनको उर्जावान समय खर्च गर्ने खेलाडीहरुलाई राज्यले उचित सम्मान दिन नसकेको महशुस गरेर नै पुरस्कार कार्यविधि लागु गर्न लागिएको बताउँदै मन्त्री अथकले खेलाडीलाई थप हौसला तथा प्रोत्साहनको खाँचो रहेको उल्लेख गर्नुभयो । 

“हामीले ऐनमार्फत खेलाडीको पुरस्कार राशी सुनिश्चित गरेका छौं” मन्त्री अथकले भन्नुभयो, “अब ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीले पुरस्कार स्वरुप १ करोड ३० लाख रुपियाँ प्राप्त गर्नेछन् । यसले खेलाडीको वृत्ति विकासका साथै राष्ट्रको पहिचान स्थापित गर्नमा समेत ठूलो सहयाेग मिल्नेछ ।” 

उहाँले एसियाली खेलकुद, साग र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदका विभिन्न प्रतिस्पर्धामा पदक विजेता तथा कीर्तिमान बनाउन सफल खेलाडीलाई विधागत रुपमा पुरस्कारको ब्यवस्था गरिएको पनि बताउनुभयो । नेपाली खेलाडी हरेक किसिमका खेल खेल्न सक्षम भएपनि उनीहरुलाई हौसलाको कमी रहेको उल्लेख गर्दै मन्त्री अथकले भन्नुभयो, “नेपाली खेलाडी आफैमा साहसी र सक्षम छन, उनिहरुको हौसला बढाउन जरुरी छ ।”

मन्त्री अथकले पोखरामा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा केन्द्रित हुन खेलाडीलाई आग्रह गर्नुभएको छ । नवौं राष्ट्रिय खेलकुदलाई लक्षित गरि तेक्वान्दो प्रशिक्षकहरुलाई अन्तर्राष्ट्रिय नियममा भएका परिवर्तनका बारेमा जानकारी दिन प्रशिक्षक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरीएको राष्ट्रिय तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य बुद्धि थापाले जानकारी दिनुभयो । कार्यक्रममा तेक्वान्दोका राष्ट्रिय तथा प्रदेश स्तरीय रेफ्री तथा प्रशिक्षकहरुको सहभागिता थियो ।