• ७ जेठ २०८१, सोमबार

शिक्षकको कुटाइले विद्यार्थीको कानको जाली फुटयो

blog

गोपी ज्ञवाली

नवलपरासी, भदौ ११ गते । पश्चिम नवलपरासी सदरमुकाम परासीस्थित एक निजी विद्यालयमा शिक्षकको कुटाइबाट विद्यार्थीको कानको जाली फुटेको छ । दिएको गृहकार्य नगरेको भन्दै रामग्राम नगरपालिका –४ बैरिहवास्थित एक निजी विद्यालय हिलेरियस चिल्डे«न एकेडमीका शिक्षक आलम सिद्धकीले कुट्दा विद्यार्थीको जाली फुटेको हो ।

कक्षा ५ मा अध्ययनरत बालक निखिल कोहारलाई कक्षाकोठामा पिटेर बालकको कानको जाली फुटेपछि बालकलाई अस्पताल भर्ना गरिएको बालकका बुवा गङ्गाप्रसाद कहारले बताउनुभयो । 

करिब एक महिना पहिले कक्षा ५ मा अध्यनरत १२ वर्षीय बालक कोहारलाई शिक्षक  सिद्धकीले गृहकार्य नगरेको भन्दै कानमा लाग्नेगरी चार झापड हिर्काएपछि बालकको कानबाट रगत आएको थियो । बालकलाई शिक्षकले पिटेर कानबाट रगत आएको खबर पाएपछि बालकका बुवा गङ्गाप्रसाद कोहार विद्यालय पुगी बालकलाई घर ल्याउनुभएको थियो । 

विद्यालय प्रशासनले बालकको कानबाट रगत आउँदा सामान्य उपचार पनि नगरी बालकलाई दिनभरि विद्यालयमा राखेको अभिभावक कोहारले गुनासो गर्नुभयो । सामान्य होला भन्दै स्थानीय मेडिकलमा उपचार गरिरहँदा बालकको कानमा चर्को दुखाइ र रगत पिप आउने क्रम नरोकिएपछि बुधवार बालकलाई बुटवलस्थित तिनाहुँ इन्टरनेशनल अस्पतालमा भर्ना गरिएको बालकका ठूला बुवा रामजी कोहारले बताउनुभयो । 

शिक्षकको पिटाइबाट घाइते भएको बालकको बायाँतर्फको कानको जाली फुटेको चिकित्सकले बताएका छन् । विद्यालय प्रशासनले कोहार परिवारका चार जना बालबालिकालाई विद्यालयबाट निस्कासन गरेको पीडित बालकका अभिभावकको आरोप छ । तर विद्यालयबाट कुनै पनि विद्यार्थीलाई ननिकालिएको हिलेरियस चिल्डे«न एकेडमीका प्रधानाध्यापक जनार्दन ठाकुरले बताउनुभयो ।