• १७ असार २०८१, सोमबार

मौसमी रुघाखोकीका बिरामी बढे

blog

ताँजाकोट गाउँपालिकामा गाउँमा पुुगेर सिजनल फ्लुुका बिरामीको उपचार गर्दै स्वास्थ्यकर्मी । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, भदौ १० गते । जिल्लाभर कोरोना सङ्क्रमणका लक्षणसँग मिल्ने मौसमी रुघाखोकीमा बिरामी बढेका छन् । मौसम परिवर्तन हुनुु र चाडवाडमा स्थानीयले सावधानी अपनाउन नसकेको कारण यस्ता लक्षणका बिरामीको सङ्ख्यामा वृद्धि भएको चिकित्सकको भनाइ छ । 

खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी जया जेठाराले गाउँपालिकाभर मौसमी रुघाखोकीका बिरामी बढेको उहाँले बताउनुुभयो । दैनिक सामुदायिक अस्पतालमा चालीसभन्दा बढी यस्ता रोगका बिरामी आइरहेको र उपचारपछि घर पठाउने गरिएको बताउनुुभयो । कोरोनाको लक्षणसँग मिल्ने बिरामी भए पनि ल्यावको कर्मचारी नभएको कारण कोरोना परीक्षण गर्न नसकिएको उहाँको भनाइ छ । 

त्यसैगरी सर्केगार्ड गाउँपालिकाको स्वास्थ्य शाखाले पनि ज्वरो आउने, रुघाखोकी र टाउको दुःख्ने बिरामीको सङ्ख्या बृद्धि भएको जनाएको छ । सिमकोट गाउँपालिका –४ का उर्गेन लामाले पाँच दिनदेखि रुघाखोकी र ज्वरोले सताएको बताउनुुभयो । खाना खान मन नलाग्ने, टाउको दुख्ने भएपछि उपचारका लागि अस्पताल पुुगेको उहाँले बताउनुुभयो । 

स्वास्थ्य सेवा कार्यालय अन्तर्गतको जिल्ला अस्पतालका बरिष्ठ अनमी सरिता बोहराले कोरोनाको लक्षणसँग मिल्ने मौसमी रुघाखोकीमा बिरामीहरु बृद्धि भएको बताउनुुभयो । यस्ताखाले बिरामी दैनिक साठीदेखि सत्तरी जना अस्पतालमा उपचारका लागि आउने गरेको उहाँको भनाइ छ । यसरी विरामी परेर उपचारका लागि आउने बिरामीमा बालबालिकादेखि वृद्धवृद्धासम्म रहेको बोहोराले बताउनुभयो । 

केही दिनअघि यस्तै लक्षण देखिएका ४७ जना बिरामीको कोरोना परीक्षण गर्दा २४ जनामा कोरोना देखिएको चिकित्सकको भनाइ छ । त्यसमा दुुई जना चिकित्सकसहित नौ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको थियो । यता अदानचुली, चंखेली गाउँपालिकामा पनि यस्ता बिरामीको सङ्ख्या बढेको बताइएको छ । 

ताँजाकोटमा देखियो कोरोना

दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिका –४ को गोठेलबाडा गाउँका कोरोनाका लक्षणसँग मिल्ने बिरामीको कोरोना परीक्षण गर्दा १० जनामा कोरोना देखिएको मैला स्वास्थ्य चौकीका इन्चार्ज धनराज ढकालले बताउनुुभयो । गाउँभरिका मानिस बिरामी भए पनि किट अभावका कारण नमुना परीक्षण गर्दा कोरोना देखिएको उहाँको भनाइ छ । 

सो गाउँमा रुघाखोकी लागेका १५० जना बिरामीको उपचार गरिएको थियो । यसकालागि स्वास्थ्य चौकीबाट पाँच जना स्वास्थ्यकर्मीको टोली परिचालन गरिएका थियो । अन्य वडाका बस्तीमा उपचारका लागि पनि दुुई वटा टोली परिचालन गरिएको उहाँको भनाइ छ ।