• १२ पुस २०८१, शुक्रबार

निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न कांग्रेस नेता सिंहको माग

blog

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह । तस्बिर : फाइल

काठमाडौं, भदौ १० गते । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निष्पक्ष निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ । शुक्रबार काठमाडौंमा भएको मङ्गलादेवी सिंहको २७ औं स्मृति दिवसलाई सम्बोधन गनुहुँदै  नेता सिंहले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘‘चुनावी माहोलमा देश होमिइसकेको छ । कांग्रेसले नै अहिले सरकारको नेतृत्व गरिरहेकाले निर्वाचन गराउने काममा इमान्दारिता निभाएको छ । अहिले पनि निर्वाचन निष्पक्ष हुनुपर्‍यो । धाँधलीरहित गराउनका लागि ग्यारेन्टी गराउनतर्फ सरकार लाग्नुपर्छ । दलहरुले पनि त्यही भावनाअनुसार अघि बढ्नुपर्छ ।’’

यस अघिका निर्वाचन पनि नेपाली कांग्रेसले इमानदारीपूर्ण गरेको र अहिले पनि कांग्रेसकै नेतृत्वमा सरकार रहेकाले धाँधलीरहित निर्वाचन गराउनतर्फ सरकार लाग्नुपर्ने उहाँको भनाइ छ ।

नेता सिंहले निर्वाचनपछिको नयाँ सरकारले संविधानले दिएका अधिकारलाई सुरक्षित र संस्थागत गर्दै नागरिकले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा ध्यान दिनुपर्ने बताउनु भयो । आगामी दिनमा नेपाली कांग्रेस आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा लाग्ने जानकारी उहाँले दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘नयाँ सरकार आएपछि हामीले गर्ने भनेको संविधानले दिएका अधिकारलाई सुरक्षित राख्दै, संस्थागत गर्दै, आम नेपाली जनताले चाहेको जीवन र जीविकोपार्जन सहज बनाउने कुरामा नेपाली कांग्रेसले विशेष ध्यान दिनुपर्छ । आगामी दिनमा नेपाली कांग्रेसले आर्थिक क्रान्ति र सम्पन्नताको अभियानमा पनि पार्टी अघि बढ्छ ।’’

नेता सिंहले कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भए पनि संविधानलाई कार्यान्वयन गर्ने बेलामा कम्युनिष्ट पार्टी सत्तासीन रहँदा आवश्यक कानुन निर्माण नगरेको आरोप लगाउनुभयो ।

उहाँले नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानुन निर्माण गर्न नसक्दा अहिले प्रदेश सरकारले केन्द्र सरकारको विरोध गरिरहेको बताउनुभयो । कम्युनिष्ट पार्टीका सरकारले सङ्घीय कानुन समयमा नबनाइ दिँदा सङ्घीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महशुस गर्ने गरेर अघि बढाउन नसकेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान जारी भयो, नयाँ संविधानलाई कार्यान्वयन गर्ने समयमा आदेश कम्युनिष्टहरुले पाएको कारण नयाँ संविधानको भावना र मर्म अनुसार आवश्यक कानुन निर्माण गर्न सकेनन् । सङ्घीय कानुन, समयमा नबनाइ दिएको कारणले सङ्घीयतालाई संविधानको भावना र मर्मअनुरुप आम नेपाली जनताले महसुस गर्ने गरेर काम गर्नुपर्नेमा ठाउँमा संसदलाई दुई–दुई पटक भङ्ग गरेको कारणले सङ्घीयतालाई जोगाउन अहिलेको अवस्थामा गइरहेका छौँ ।’’

नेता सिंहले राणाकालमा समेत महिलालाई पढाउनुपर्छ भनेर अधिकार स्थापित गर्न र महिलालाई शिक्षाका लागि मात्रै नभइ मतदानको अधिकार दिलाउन पनि मङ्गलादेवी सिंहले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै उहाँको स्मरण गर्नुभयो ।