• १३ साउन २०८१, आइतबार

पौडेललाई भावी प्रधानमन्त्री घोषणा गर्न माग

blog

तनहुँ समाचारदाता 

तनहुँ, भदौ १० गते । आसन्न मङ्सिर ४ गतेका लागि सङ्घ तथा प्रदेश निर्वाचनको मिति घोषणा भएसँगै नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गृहजिल्ला तनहुँमा चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । 

चुनावी अभियानका क्रममा गाउँबस्ती तथा घरदैलो भेटघाटमा रहनुभएका वरिष्ठ नेता पौडेललाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्न स्थानीय नेता तथा कार्यकर्ताले माग गरेका छन् । कांग्रेस पार्टीले मात्र होइन, गठबन्धनले नै वरिष्ठ नेता पौडललाई भावी प्रधानमन्त्रीका रूपमा घोषणा गर्नुपर्ने आवाज उठाइएको छ । बन्दीपुर गाउँपालिका–४, डुम्रेस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा सहभागी वक्ताले यस्तो आवाज उठाएका हुन् । 

भानु नगरपालिका–१, भन्सारमा आयोजित सभामा कांग्रेसका महासमिति सदस्य तथा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले नेता पौडललाई प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मात्रै नभई सत्तारूढ गठबन्धन दलले पनि भावी  प्रधानमन्त्री घोषणा गर्नुपर्ने बताउनुभयो । 

वरिष्ठ नेता पौडेललाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्दा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले सन्तनेता कृष्णप्रसाद भट्टराईलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्दाको इतिहास दोहोरिनुका साथै कांगे्रस पार्टीको मत बढ्ने दाबी उहाँले गर्नुभयो । तनहुँ जिल्लामा धेरैजना राष्ट्रिय स्तरको नेताहरू भएको चर्चा गर्दै उहाँले कुन नेतालाई कुन कुन स्थानमा व्यवस्थापन गर्ने हो सो काम वरिष्ठ नेता पौडेलबाट हुनुपर्ने धारणा राख्नुभयो । 

नेविसङ्घका निर्वतमान महामन्त्री तथा महाधिवेशन प्रतिनिधि दीपक भट्टराईले नेता पौडेल देशकै नेतृत्व गर्न सक्ने व्यक्ति भएको र एक पटक पनि प्रधानमन्त्री हुन अवसर नपाएकाले भावी प्रधानमन्त्री घोषणा गर्न उपयुक्त हुने बताउनुभयो । 

कांग्रेस तनहुँका सचिव सहदेव अधिकारीले सङ्कटग्रस्त राजनीतिको चङ्गुलबाट मुलुकलाई निकास दिएर सुशासनसहित आर्थिक समृद्धिका लागि नेता पौडेलको विचार र नेतृत्व आवश्यक रहेकोे बताउनुभयो । २०७४ सालको निर्वाचनमा तनहुँ १ बाट उम्मेदवार बने पनि तत्कालीन नेकपा एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ किसानसँग पराजित हुनुभयो । श्रेष्ठ हाल नेकपा एकीकृत समाजवादीमा हुनुहुन्छ । उहाँले तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । 

भावी प्रधानमन्त्री घोषणा गर्नुपर्ने मागका सम्बन्धमा जिज्ञासा राख्दा नेता पौडेले भन्नुभयो “मेरो केही मिसन छ, त्यो पूरा भएको छैन, प्रधानमन्त्री मैले आफैँ भन्ने कुरा होइन तर मेरा केही भिजन छन्, आर्थिक योजना छन्, त्यसलाई कार्यान्वयन गर्न पाउनुपर्छ भन्ने दाबी मात्र हो ।” जिल्ला समवन्य समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले लोकतन्त्र र शान्तिका लागि उहाँ वर्षौंदेखि लडिरहेको व्यक्ति भएकाले अबको  प्रधानमन्त्री तनहुँबाट चुन्न नेता पौडललाई तनहुँबाट प्रत्यक्ष रुपमै जिताउनु पर्ने बताउनुभयो ।