• १६ चैत २०८०, शुक्रबार

दफावार छलफलका लागि विधेयक समितिमा

blog

अविनाश चौधरी

धनगढी, भदौ ९ गते । सुदूरपश्चिम प्रदेशको निजामति सेवा गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल पश्चात् तयार भएको प्रतिवेदन प्रदेश सभामा प्रस्तुत गरिएको छ । 

बिहीबार बसेको प्रदेश सभा बैठकमा विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले सभामा प्रतिवेदन प्रस्तुत गर्नुभयो । विधायन तथा प्रदेश मामिला समितिमा सो विधेयकमाथि दफावार छलफल गरिएको थियो । 

विधेयकमा भएका कमीकमजोरीलाई सुधार गरिएको समितिका सभापति चौधरीले बताउनुभयो । यस्तै, केही कुरा थप गरिएको र केही हटाइएको उहाँको भनाइ छ । समावेशीका लागि ४५ प्रतिशत कोटा छुट्टयाइ त्यसलाई सतप्रतिशत मानेर प्रतियोगितात्मक परीक्षाबाट विभिन्न जातजातिको प्रतिनिधित्व हुने व्यवस्था विधेयकले गरेको सभापति चौधरीले बताउनुभयो । 

यसैगरी, सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक समितिमा पठाइएको छ । भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीको प्रस्तावमा विधेयकलाई समितिमा पठाइएको हो । प्रदेश सभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।