• ७ वैशाख २०८२, आइतबार

स्केटबोर्ड च्याम्पियनसिपमा खुसी र गजेन्द्र च्याम्पियन

blog

उपाधि विजेता खेलाडी ।

काठमाडौँ, वैशाख ७ गते । आठौँ राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिपमा महिला खुलातर्फ खुसी विक र पुरुष खुलातर्फ गजेन्द्र बर्देवा च्याम्पियन बन्नुभएको छ ।

नेपाल स्केटिङ तथा स्केट बोर्डसङ्घको आयोजनामा सम्पन्न प्रतियोगितामा पुरुषतर्फ शरद राई दोस्रो र वसन्त राईले तेस्रो हुनुभयो । महिलामा लेमन मगर दोस्रो र समीक्षा राई तेस्रो बन्नुभयो । खुलातर्फका विजेता, उपविजेता र तेस्रो हुनेले क्रमश: २५, २० र १५ हजार रुपियाँ पुरस्कार पाउनुभयो । 

यस्तै जुनियरतर्फको उपाधि अभिषेक परियारले जित्नुभयो । अङ्कित विक दोस्रो र अविनाश कुमाल तेस्रो हुनुभयो । जुनियरतर्फ विजेतालाई १०, उपविजेतालाई पाँच हजार र तेस्रो हुनेलाई तीन हजार रुपियाँ पुरस्कार प्रदान गरियो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल स्केटिङ तथा स्केट बोर्डका अध्यक्ष अच्युत खनाललगायतले पुरस्कार प्रदान गर्नुभयो । दुई दिने प्रतियोगितामा एक सय ५० पुरुष र एक सय ५० महिला गरी चार सय खेलाडीको सहभागिता रहेको थियो ।