जनार्जन खत्री
सर्लाही, पुस ४ गते । सर्लाहीको लालबन्दीमा गरगहना चोरी गर्ने र चोरी गरेर बिक्री गर्न ल्याइएको गहना खरिद गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लालबन्दीले गहना चोरी गर्ने कार्यमा संलग्न दुई जनासहित त्यस्ता गहना किन्ने दुई जना सुनचाँदी पसल सञ्चालकलाई समेत पक्राउ गरेको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा मुख्य चोरी गर्ने व्यक्ति एक जना नाबालक रहेको पाइएको छ ।
नाबालक भएकाले प्रहरीले उनको नाम भने गोप्य राखेको छ । नाबालकले चोरी गरेर ल्याएको गरगहना धनकौल गाउँपालिका–६, घर भई लालबन्दी नगरपालिका–७, मा डेरा गरेर बस्ने ३५ वर्षीया पिङ्कीदेवी साहले सुनचाँदी पसलमा लगेर बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
गरगहना चोरी गरेर ल्याउने नाबालक र पिङ्कीदेवी नातेदार हुन् । लालबन्दी बजार क्षेत्रमा पानीपुरी, चटपटे बेच्दै हिँड्ने पिङ्कीदेवी र गहना चोरी गरेर ल्याउने नाबालक एकैघरमा डेरा गरेर बस्ने गरेका थिए।
यसरी चोरी गरेर ल्याइएको गरगहना बिलभर्पाइ नभए पनि खरिद गर्ने गरेको पाइएपछि प्रहरीले लालबन्दी बजारमा रहेको आरके ज्वेलर्सका सञ्चालक लालबन्दी–१०, चन्द्रपुरका ४२ वर्षीय रमेश विश्वकर्मा र साइरा ज्वेलर्सका सञ्चालक ३१ वर्षीय कुमार विश्वकर्मालाई पक्राउ गरेको छ । गरगहनाको मुख्य चोरी गर्ने व्यक्ति, सुन बिक्रीमा संलग्न महिला र सुन खरिदकर्ता चारै जनालाई चोरीसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको लालबन्दीका प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो ।
अनुसन्धानको क्रममा मङ्सिर २३ गते लालबन्दी–९, बस्तीपुरका प्रमोदकुमार लुइटेलको घरबाट चोरी भएका गरगहना चोरीमा संलग्न नाबालकको कोठाबाट बरामद भएको प्रहरी निरीक्षक जोहारीले बताउनुभयो । चोरी गरिएको गरगहनामध्ये एक थान तिलहरी सुनचाँदी पसलमा लगेर १ लाख ४४ हजार रुपियाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ ।
गरगहना चोरीमा अन्य व्यक्तिहरुको समेत संलग्नता रहन सक्ने कोणबाट अनुसन्धान गरिरहेको लालबन्दी प्रहरीले बताएको छ । पछिल्लो समय लालबन्दी, मलङ्गवालगायत स्थानका घरहरुमा बारम्बार चोरी भइरहने घटनाले सर्वसाधारणसहित प्रहरी हैरान छन् ।