• ८ जेठ २०८१, मङ्गलबार

बाँकेमा मिटरब्याजीविरुद्ध २० उजुरी

blog

नेपालगञ्जस्थित जिल्ला प्रशासन कार्यालय ।

सिराज खान
नेपालगञ्ज, भदौ ९ गते ।
जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध २० जनाले उजुरी दिएका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरले सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ८ गतेसम्म २० जनाले उजुरी दर्ता गरेको जानकारी दिनुभयो ।

सरकारले उजुरी दिन आह्वान गरेपछि उजुरी पर्न थालेको र आउने क्रम जारी रहेको उहाँले बताउनुभयो । उजुरी आएपछि केही उजुरीका विषयमा मिटरब्याजीमा संलग्नलाई बोलाएर छलफल गरेपछि केही पीडितलाई राहत मिलेको अधिकृत सोनकरले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रशासन कार्यालयमा परेका उजुरी नेपालगञ्ज उपमहानगरपालिकासहित कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका, जानकी गाउँपालिका छन् ।

मिटरब्याजीविरुद्ध उजुरी आउने क्रम जारी रहेको जानकारी दिनुहुँदै अधिकृत सोनकरले उजुरीबारे गृह मन्त्रालयलाई पत्राचार गरेको बताउनुभयो ।

मिटरब्याजीले थोरै पैसा लगानी गरेर १० देखि ३० लाखसम्मको कागज गरेको उजुरीहरुमा उल्लेख गरिएको पाइएको छ ।

नेपालगञ्जका एकजना मिटरब्याजीले पाँच लाख रुपियाँ दिएर दुई भाइसँग १०–१० लाखको कागज गराएको पाइएकाले उनीहरुलाई पनि बोलाएर छलफल गराउने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

बुधबार एकजना महिलाले दिएको उजुरीमा तीन लाख ५० हजार लिएकोमा ५१ लाखको घर नै हडप्न थालेको उल्लेख गर्दै घर जोगाइदिन आग्रह गर्नुभएको अधिकृत सोनकरले बताउनुभयो ।

कतिपय मिटरब्याजीविरुद्ध बाँकेमा रहेका विभिन्न अदालतमा समेत मुद्दा चलेको पाइएको छ । मिटरब्याजीले निरक्षर, गरिब तथा आर्थिकरुपले कमजोर रहेकामाथि शोषण गरेकाले कैयौँ परिवार बिचल्लीमा परेको भन्दै उजुरी लिनका लागि स्थानीय प्रशासनलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो ।