• ९ मंसिर २०८१, आइतबार

योगदानमा आधारित सामाजिक सुरक्षा कोष: विराटनगर र सिमरामा शाखा

blog

काठमाडौँ, भदौ ९ गते । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको विराटनगर र सिमरामा शाखा कार्यालय शुभारम्भ गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले बुधबार एकैसाथ भर्चुअल माध्यमबाट ती दुई कार्यालयको शुभारम्भ गर्नुभएको हो । सेवाग्राहीको माग र आवश्यकताका आधारमा शाखा विस्तार गरिएको कोषले जनाएको छ । 

श्रम सचिव एवं कोष सञ्चालक समितिका अध्यक्ष एकनारायण अर्यालले केन्द्रीय कार्यालयबाट हुँदै आएका सम्पूर्ण काम नयाँ शाखा कार्यालयबाट पनि हुने जानकारी दिनुभयो । उहाँले कोषका कार्यालय विस्तार भएसँगै ती कार्यालयमार्फत कोषमा सेवाग्राहीको पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । 

अध्यक्ष अर्यालका अनुसार कोषले हाल औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना, वृद्ध अवस्था सुरक्षा योजना र सापटी योजना सञ्चालन गर्दै आएको छ ।  

कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले कोषका सम्पूर्ण कार्य विद्युतीय प्रणालीमा आधारित भए पनि रोजगारदाता तथा योगदानकर्ता सूचीकरण गर्न कोषले सञ्चालनमा ल्याएका योजनाबारे जानकारी गराउने काम यी शाखा कार्यालयबाट सञ्चालन गर्ने उद्देश्य रहेको बताउनुभयो । 

उहाँले यी कार्यालयबाट योगदानकर्ताको आफ्नो केवाईसी भर्नका लागि सहजीकरण गर्ने, कोषबाट प्रदान हुने सुविधा दाबीमा सहजीकरण गर्ने र कोषको सङ्ग्रह सेवा प्रवाह प्रणालीलाई सरल, शीघ्र र योगदानकर्तामैत्री बनाइने पनि उद्देश्य राखिएको जानकारी दिनुभयो । 

कोषले अघिल्लो सातादेखि सामाजिक सुरक्षा कोषमा योगदान गरेका योगदानकर्ताका लागि अवकाश योजनाअन्तर्गत विशेष सापटी योजना सुरु गरेको छ । 

यसअन्तर्गत कोषको अवकाश योजनामा जम्मा भएको रकमको ८० प्रतिशतसम्म शैक्षिक र घर सापटी कर्जाका रूपमा दिन थालिसकेको छ । 

कोषमा हालसम्म सूचीकृत रोजगारदाताको सङ्ख्या १७ हजार ३१२ रहेको छ भने सूचीकृत हुने योगदानकर्ताको सङ्ख्या तीन लाख ५४ हजार ९५२ पुगेको छ । 

नेपालमा सामाजिक सुरक्षा कोषको स्थापना २०६७ सालमै भएको थियो । औपचारिक शुभारम्भ भने २०७५ मङ्सिर ११ गतेदेखि भएको हो । निजी क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रूपमा कार्यान्वयनमा आएको थियो ।   

‘सेवा सरल र सहज’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले केन्द्रीकृत रहेको कोषका सेवालाई विकेन्द्रित गरेर कोषका सेवालाई सरल र सहज बनाउन लागेको बताउनुभयो । 

कोषका दुई शाखा कार्यालयको उद्घाटन गर्दै उहाँले कोषमार्फत गएको एक÷डेढ महिनाको अवधिमा स्वचालित विद्युतीय प्रणालीमा आधारित स्वास्थ्य सेवा प्रवाह गर्ने गरी अस्पतालसँग सम्झौता गर्नेदेखि लिएर योगदानकर्तालाई विशेष सापटी योजनाको शुभारम्भ र कोषका शाखा विस्तार गर्ने कामलाई राम्रा उपलब्धिका रूपमा लिइएको बताउनुभयो । 

कोषको कार्यक्रम सरकार एक्लैको मात्रै नभएर रोजगारदाता र श्रमिक सम्मिलित त्रिपक्षीय सहमतिमा सञ्चालन भएको कार्यक्रम भएकाले यसलाई प्रभावकारी गराउन सबै तहको बराबर जिम्मेवारी हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।