• ४ पुस २०८१, बिहिबार

तीजको दर खाएका सयजनाभन्दा बढी बिरामी

blog

गोरखा, भदौ, ८ गते ।  गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी परेका छन् । गोरखा नगरपालिका–७ मान्द्रेढुङ्गाका महिला तथा पुरुष तीजको भोज खाएपछि बिरामी परेका हुन् ।

वडाध्यक्ष विष्णु श्रेष्ठका अनुसार भोज खाएका अघिकांश बिरामी परेका छन् । “कृष्ण जन्माष्टमीका दिन स्थानीय महिला तथा पुरुष मिलेर तीजको दर खाएका थिए । सोही साँझदेखि नै भोज खाएका सबै बिरामी परेका हुन्”, उहाँले भन्नुभयो, “बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मी लगेर उपचार सुरु गरिएको छ ।” 

स्वास्थ्यकर्मीको टोलीले ४० जनाभन्दा बढीको स्वास्थ्य जाँच गराएको श्रेष्ठले बताउनुभयो । बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आवश्यक औषधोपचार गरिएको उहाँले बताउनुभयो । 

बिरामी परेकाहरू अहिले विस्तारै निको हुँदै गएका छन् । केहीलाई अझै घरमै स्लाइनपानी दिएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिनुभयो । बिरामीमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, ज्वराे आउने र पखाला लाग्ने समस्या देखिएको उहाँले बताउनुभयो ।   बिरामीमध्ये अधिकांशको गोरखा सदरमुकामका निजी क्लिनिकमा उपचार भइरहेको छ । “केही आफैँ गोरखा अस्पताल पुगेर उपचार गराइरहेका छन्”, उहाँले भन्नुभयो ।