• १५ असार २०८१, शनिबार

मानवतावादी जयपृथ्वीबहादुर सिंहको जन्म जयन्ती

राष्ट्रिय विभूति घोषणा गरेकोमा खुसीयाली साटासाट

blog

राजा जयपृथ्बीबहादुर सिंहको १४६ औँ जन्म जयन्तीको अवसरमा आयोजित कार्यक्रममा सहभागी । तस्बिर : शैलेन्द्र रोकाय

शैलेन्द्र रोकाय 

बझाङ, भदौ ७ गते । राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्बीबहादुर सिंहको १४६ औँ जन्म जयन्तीको अवसरमा जिल्लाका विभिन्न ठाउँमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरी मनाइएको छ । कार्यक्रममा सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेकोमा खुशीयाली मनाएका थिए । नेपाल सरकारले हालै मात्र सिंहलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । 

जिल्लाको पुरानो सत्यवादी माध्यमिक विद्यालयले सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी जयपृथ्वी जन्म जयन्ती मनाएको छ । विद्यालयले हाजिरजवाफ प्रतियोगिता, निबन्ध प्रतियोगिता, हिसाब दौड प्रतियोगिता लगाएका कार्यक्रम गरी मनाएको सत्यवादी माविका प्रधानाध्यापक रामदत्त उपाध्यायले बताउनुभयो । 

उहाँले मानवतावादी राजा जयपृथ्वीले यस विद्यालयको समेत स्थापना गर्नुभएकाले उहाँका बिचारहरु विद्यार्थीहरुमा प्रवाह गर्ने उद्देश्यले हरेक वर्ष जन्म जयन्ती मनाउदैँ आएको समेत बताउनुभयो ।

त्यस्तै, जिल्लाको जयपृथ्बी बहुमुखी क्याम्पसले समेत एक जुम प्रविधिमार्फत जयपृथ्वी बहादुर सिंहले गरेका काम र लुकेका तथ्यहरु उजागर गर्ने उद्देश्यले विभिन्न प्राध्यापकहरुलाई आमन्त्रण गरी कार्यक्रम गरेको छ । 

त्यस्तै, सदरमुकाम चैनपुरमा नेपाल पत्रकार महासंघ बझाङ शाखाले प्रभातफेरि तथा मानवतावाद, जयपृथ्वी र अबको यात्रा विषयक बिचार गोष्ठी तथा पत्रकार सम्मान कार्यक्रमको आयोजना गरी मनाएको छ ।

गोरखापत्रका संस्थापक समेत रहेका राजा जयपृथ्वीले नेपाली पत्रकारिताको विकासका लागि समेत योगदान दिएको भन्दै बझाङ शाखाले हरेक वर्ष मानवता, सुशासन र सामाजिक रुपान्तरणको क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई पुरस्कारका साथै बिचार गोष्ठीको समेत आयोजना गर्दै आएको छ ।

जिल्लाको छबिसपाथीभेरा गाउँपालिकामा समेत विभिन्न कार्यक्रम गरी जयपृथ्वी जन्मजयन्ती मनाएको छ । गाउँपालिकाको सत्यवादी माध्यमिक विद्यालय, बान्नीचौर माध्यमिक विद्यालय र छाबिस पाथीभेरा गाउँपालिकाले समेत बिभिन्न कार्यक्रमको आयोजना गरी मनाएको हो । 

तीनजना पत्रकार पुरस्कृत 

नेपाल पत्रकार महासंघ बझाङले आयोजना गरेको जयपृथ्बी बहादुर सिंहको १४६ औ जन्म जयन्तीको अबसरमा आयोजित कार्यक्रममा तिन जना पत्रकार सम्मानित भएका छन् । 

मानवतावादी व्यक्तित्व जयपृथ्वीबहादुर सिंहको नामबाट स्थापना गरेको जयपृथ्बी पत्रकारिता पुरस्कारबाट रेडियो नेपालमा कार्यरत  पत्रकार जगदीश रोकायालाई  नगद दश हजार रुपयाँ सहित सम्मान गरेको छ । 

यसैगरी नेपाल पत्रकार महासंघ बझाङ शाखाका पूर्व सचिब स्वर्गीय नरेश खड्काको सम्झनामा स्थापना भएको नरेश स्मृति पत्रकारिता पुरस्कार २०७९ बाट पुरस्कारमा रेडियो थलारामा कार्यरत  पत्रकार पदम खड्का, साईपाल एफ एम का पत्रकार तरुणा जोशीलाई वितरण गरेको छ । साथै कार्यक्रमा रेडियो जनमुखीलाई समेत संस्थागत सम्मान गरेको छ । 

कार्यक्रममा सरकारले राष्ट्रिय विभूति घोषणा गरेकोमा खुशीयाली साटेका थिए । लामो समयदेखि जयपृथ्बी बहादुर सिंह बारेमा अध्ययन गरिरहनु भएका स्थानीय विष्णुभक्त जोशी (शास्त्री)ले देखाउनु भएको मार्गदर्शन मात्र अनुसरण गरेको खण्डमा अहिले समाजमा हराउँदै गएको निष्ठा इमान्दारिता केही हदसम्म भए पनि बच्ने बताउनुभयो ।