काठमाडौं, भदौ ७ गते । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनको ब्रिफिङ गर्नुभएको छ। 
एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले मंगलबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको बैठक भदौ १० र ११ गते बस्ने केन्द्रीय कमिटीको एजेण्डामा केन्द्रीत भएको जानकारी दिनुभयो। सो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुहुने राजनीतिक प्रतिवेदनको मूलभूतरुपमा ब्रिफिङ गर्नुभएको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, “पार्टीको स्थायी कमिटी बैठक सम्पन्न भएको छ। आज नयाँ एजेण्डा धेरै छैनन्। केन्द्रीय कमिटीको एजेण्डा तय गर्ने सम्बन्धमा यसअघिको सचिवालय बैठकले जे एजेण्डा तय गरेको छ, त्यही नै हुन्।”
त्यसबाहेक आजको पहिलो एजेण्डाको रुपमा अध्यक्ष ओलीले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिती, एमालेको आजको मुख्य स्थिती, वर्तमान गठबन्धन सरकारले गरेका गतिविधि यही सेरोफेरोमा छलफल भएको उहाँले उल्लेख गर्नुभयो। राजनीतिक प्रतिवेदनमाथि घनश्याम भुसाल, कर्ण थापा, प्रभु साह, शेरधन राई, रघुजी पन्त, शेरबहादुर तामाङ, सुवासचन्द्र नेम्वाङ, गोरखबहादुर बोगटी, मणिचन्द्र थापा, खगराज अधिकारी, हिक्मत कार्की, गुरु बराल लगायतका १३ जना स्थायी कमिटी सदस्यले सुझाव राख्नुभएको छ। 
उहाँले बैठकमा गण्डकीबाहेक बाँकी ६ वटा प्रदेश इन्चार्जबाट प्रदेशमा शक्ति सन्तुलन र संगठनात्मक स्थितिको ब्रिफिङ भएको बताउनुभयो। यसका लागि यसअघि सचिवालय बैठकले गरेका निर्णय अनुमोदन गरेको र अध्यक्ष ओलीको संयोजकत्वमा गठित केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक भदौ १२ गते बस्ने जानकारी उहाँले दिनुभयो।
बैठकमा पछिल्लो समय एमाले प्रवेश गर्नेहरुको दुरुस्त विवरण उल्लेख गर्ने र उनीहरुको उचित व्यवस्थापन गर्ने विषयमा छलफल भएको छ।
एमालेको अबको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन मूलतः आगामी चुनावमा कसरी जाने भन्ने रणनीतिक योजना, चुनौतीको सामना एवम् चुनावमा बहुमत ल्याउने विषयमा केन्द्रित रहने जनाइएको छ। 
 
                                 
                                                 
                                                             
                                                                 
                                                                 
                                                             
                                                                 
                                                                 
                                                 
                                                -original-thumb.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                