• १५ असार २०८१, शनिबार

बीमा रकम दाबी गर्न टिपर धनीकै आग्रहमा आगजनी

blog

धनीकै आग्रहमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीद्वारा आगजानी गरिएकाे टिपर । तस्बिर : दिवाकर पोख्रेल

दिवाकर पोख्रेल
देउखुरी, भदौ ७ गते ।
बीमाको रकम दाबी गर्न दाङमा चालक र सहचालकले नै टिपरमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेस काफ्लेले टिपर धनीकै आग्रहमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरीले टिपर आगजानी गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिनुभयो ।

एसपी काफ्लेका अनुसार मङ्गलबार बिहान रा १ ख १६९४ नम्बरको टिपरमा आगजनी भएको खबर कार्यालयमा आएको थियो । मङ्गलबारै विभिन्न माग राख्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित चार वटा पार्टीले नेपाल बन्दको घोषणा गरेका थिए ।

बन्दको घोषणा गर्ने पार्टीबाटै गाडीमा आगजनी भएको आशङ्का प्रहरीको थियो । त्यसपछि प्रहरीले बन्द आयोजना गर्नेको खोजी तीव्र पार्यो । लगत्तै घोराही र तुलसीपुरबाट आठ जना बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लियो ।

नियन्त्रणमा लिएकाले गाडीमा आगजनी नगरेको बयान दिएपछि प्रहरीले घटनाबारे थप जानकारी लिन टिपर चालक र सहचालकसँग बयान लिएको थियो । बयानमा चालक र सहचालकले अज्ञात समूहले नभइ आफूहरुले नै आगजनी गरेको बयान दिएको एसपी काफ्ले जानकारी दिनुभयो ।

एसपी काफ्लेका अनुसार उनीहरुले टिपर धनीको निर्देशनमा बीमाको रकम दाबी गर्न  आगजनी गरेको बयान दिएका हुन् ।

गाडी पुरानो भएको र बारम्बार मर्मत् गरिरहनु पर्ने झण्झट भएकाले गाडी धनीकै आग्रहमा आगजनी गरेको रहस्य खुलेको हो । प्रहरीले चालक सहचालकलाई नियन्त्रणमा लिएको छ भने गाडी धनीको खोजी गरिरहेकाे छ ।