• १३ असोज २०८१, आइतबार

बेपत्ता र सत्य निरुपण विधेयक पीडितलाई न्याय दिने गरी आएन : सांसद सुवाल

blog

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल । तस्बिर : फाइल

काठमाडौं, भदौ ७ गते । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पीडितलाई न्याय दिने गरी नआएको बताउनुभएको छ ।

मङ्गलबारको प्रतिनिधिसभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि विरोधको सूचना प्रस्तुत गर्नुहुँदै सांसद सुवालले विधेयक पीडितलाई न्याय दिने गरी नआएको बताउनुभएको हो । उहाँले विधेयकमा कुन–कुन प्रावधान राखिँदैछ भन्ने सम्बन्धमा पीडितलाई जानकारी नदिएको बताउनुभयो ।

विधेयक पीडकलाई उन्मुक्ति दिने किसिमको रहेको उहाँको भनाइ छ । सांसद सुवालले सङ्क्रमणकालिन न्याय अन्य ऐनहरुसँग पनि सम्बन्धित हुने भन्दै यो विधेयकले शान्ति प्रक्रियाका बाँकी काम पूर्ण हुन नसक्ने बताउनुभयो ।

मानव अधिकारको गम्भीर उल्लंघनका घटनालाई पनि मानव अधिकार उल्लंघनको घटना भन्दै मेलमिलाप गर्न लागिएकाले दोषीलाई पनि सजाय हुनुपर्ने उहाँको माग छ ।