अविनाश चौधरी
धनगढी, भदौ ७ गते । कैलालीको नदीमा दुर्लभ प्रजातिको घडियाल गोहीको सङ्ख्या बढेको पाइएको छ । घडियाल गोही अति सङ्कटापन्न सूचीमा रहेको छ । कर्णालीका सहायक नदी मोहना, पथरैया, काढा, कान्द्रामा विगतको तुलनामा खडियाल गोहीको सङ्ख्या बढेको स्थानीयले बताएका छन् । स्वच्छ पानीमा आहारबिहार गर्न रुचाउने घडियाल डल्फिन संरक्षित क्षेत्रमा मात्रै दुई दर्जनको हाराहारीमा देखापरेको स्थानीय संरक्षणकर्मी भोजराज ढुङ्गानाको दाबी छ ।
उहाँका अनुसार मोहना–पथरैया र पथरैया–काढा नदीको दोभानमा मात्रै १० वटासम्म घडियाल छन् । डल्फिन संरक्षण क्षेत्रबाहेक अन्यतिरको समेत सङ्ख्या जोड्ने हो भने दुई दर्जनभन्दा बढी हुन सक्छ । मोहना नदीमा कैलारी गाउँपालिकासम्म घडियाल गोही पुगेको बताइन्छ ।
सन् १९५० तिर दक्षिण एसियाका धेरैजसो मुलुकमा पाइने घडियाल गोही अहिले भने नेपाल र भारतमा मात्रै पाइन्छ । सबैभन्दा बढी घडियाल गोही रहेको स्थान भारतको चम्बल हो । त्यसपछि कतरनियाघाट सेन्चुरीमा पनि घडियाल गोही प्रशस्त छन् । नेपालको बर्दिया र चितवन राष्ट्रिय निकुञ्जमा पनि राम्रो सङ्ख्यामा घडियाल गोही रहेका छन् । दुवै निकुञ्जमा गोही प्रजनन केन्द्र स्थापना गरेर घडियालको सङ्ख्या वृद्धिको कार्य हुँदै आएको छ ।
नेपालमा सन् २०१६ मा गणना गर्दा जम्मा १९८ वटा घडियाल रहेको पुष्टि भएको थियो । सो गणनाका क्रममा नारायणी नदीमा ८४, राप्तीमा ८२, बबईमा ३१ र कर्णाली नदीमा एक वटा मात्रै घडियाल अभिलेख भएको थियो । जसमध्ये भाले सङ्ख्या छ मात्रै रहेको अभिलेख गरिएको थियो । छ वर्षअगाडि गरिएको गणनाले कर्णाली नदीमा एक मात्र घडियाल रहेको पुष्टि गरे पनि अहिले भने सङ्ख्या बढेको छ ।
मनसुन लागेपछि विभिन्न सहायक नदीमा पुगेका घडियाल गोही कर्णाली नदीबाटै आएका हुन् । मोहना, पथरैया, काँढा, कान्द्रामा घडियाल गोही हिउँदमा नबस्ने गरेको ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार नदीमा पानीको गहिराइ रहेसम्म मात्रै घडियाल बस्छन् । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनुभएका ढुङ्गानाले घडियाल गोही हिउँदमा फेरि कर्णालीमै फर्कने बताउनुभयो ।
मगर गोही विभिन्न नदीमा वर्षभरि बस्ने गरे पनि घडियाल भने डल्फिन जस्तै फेरि कर्णालीमै फर्कने गरेको उहाँको भनाइ छ । यहाँ देखापरेका घडियालमा सबै पोथी रहेको जनाइएको छ । घडियालको भालेको ठुँडमा ठूलो घडा हुने गरेकाले भाले पोथी सजिलै छुट्याउन सकिन्छ । डल्फिनजस्तै स्वच्छ र बग्ने पानीमा बस्न रुचाउने घडियालको आहारा माछा हो । नदीनालामा पाइने माछा खाएर घडियाल गोही बाँच्ने गर्दछन् । घडियाल जमिन र पानी दुवैमा बस्न सक्ने सरिसृप प्राणी घडियाल कैलालीको नदीमा डल्फिनसँगै देखापर्ने गरेका छन् । सामान्यतयाः डल्फिनले गोहीलाई आफ्नो आसपासमा बस्न नदिने गरेको बताइन्छ ।
मुलुकको अन्य नदीमा गोही प्रजनन केन्द्रबाट लगेर घडियाल छोड्ने गरिए पनि कैलालीको नदीमा प्राकृतिक रूपमै दुर्लभ घडियाल बस्ने गरेको संरक्षणकर्मी विजयराज श्रेष्ठले बताउनुभयो । “यहाँ घडियालको प्राकृति बसोबास रहेको छ”, उहाँले भन्नुभयो । कैलालीमा घडियाल र मगर गरी दुई प्रजातिका गोही पाइने गरेका छन् । मगर गोही तलाउ, घोल, नदीमा वर्षभरि नै बस्ने गर्छन् । घडियालभन्दा मगर गोही निकै आक्रमक रहने गरेको श्रेष्ठको भनाइ छ ।