• १४ वैशाख २०८१, शुक्रबार

वन पदाधिकारीमाथि आर्थिक हिनामिनाको आरोप

blog

अमरराज नहर्की 

तनहुँ, भदौ ७ गते । तनहुँको एक सामुदायिक वनका पदाधिकारीमाथि आर्थिक हिनामिना गरेको आरोप लागेको छ । बन्दीपुर गाउँपालिका–६ मा रहेको बगरखोला सामुदायिक वनका पदाधिकारमाथि आफन्तलाई पैसा बाँडी आर्थिक हिनामिना गरेको आरोप लागेको हो। 

आर्थिक अनियमितता गरेकाले छानबिन गरी असुलउपर गर्न माग राखी उपभोक्ताले सोमबार डिभिजन वन कार्यालयमा उजुरी दर्ता गराएका छन्। आर्थिक वर्ष २०७४/७५ देखि समितिले हालसम्म उपभोक्ताले पटक–पटक आर्थिक हिसाब माग गर्दा समितिले दिन नसकेको उपभोक्ताको भनाइ छ। 

उपभोक्ताले पटक–पटक माग राख्दासमेत बेवास्ता गरेपछि हिनामिना गरेको रकमको असुलउपरको माग राखी डिभिजन वन कार्यालय तनहुँमा उजुरी दिएको बन्दीपुर गाउँपालिका–६ का वडा सदस्य मीनबहादुर गुरुङले बताउनुभयो।

समितिले आर्थिक वर्ष २०७४/७५ देखि अहिलेसम्म लेखापरीक्षण नगरेको र हरहिसाब उपभोक्तासमक्ष पेस नगरेकाले उजुरी गर्नु परेको जानकारी उहाँले दिनुभयो।

२०७८ साल फागुन १४ गते ११० जनाको उपस्थितिमा बैठक बसी समितिलाई पहिलो पटक आर्थिक हिसाबकिताब देखाउन माग गरेको उपभोक्ताले बताएका छन्। त्यसपछि दोस्रो पटक २०७८ साल फागुन २९ गते ८३ जना उपभोक्ताको उपस्थितिमा र २०७९ साउन २७ गते ६० जना उपभोक्ताको उपस्थितिमा बैठक बसी जानकारी गराए पनि बेवास्ता गरेको स्थानीय उपभोक्ता मनिकुमार गुरुङले बताउनुभयो।

आर्थिक वर्ष २०७४/७५ मा बगरखोला सामुदायिक वनको नाममा रहेको नेपाल बैङ्क लिमिटेडको खातामा २९ लाख ८३ हजार ९३ रुपियाँ रहेकोमा समितिले सोही रकम व्यक्तिलाई दिएको र हालसम्मको आम्दानी पनि नदेखाएकाले करोडौँ रकम घोटालाको आरोप लगाइएको छ। 

सो वनबाट वार्षिक एक करोडभन्दा बढी काठ बिक्रीबाट आम्दानी हुने गरे पनि त्यसको हिसाबकिताब नदेखाइएको आरोप गुरुङको छ। ९९० दशमलव ९४ हेक्टर क्षेत्रफल ओगटेको उक्त वनमा धरमपानी, साराङघाट र ग्याँजाटारका बासिन्दा उपभोक्ता छन्। 

यस सम्बन्धमा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले वन ऐनअन्तर्गत स्थानीय समिति र उपभोक्तालाई सम्पूर्ण अधिकार दिइएको बताउँदै उचित छानबिनका लागि पत्राचार गरिएको बताउनुभयो। यस सम्बन्धमा बुझ्न खोज्दा बगरखोला सामुदायिक वनका अध्यक्ष सुजन गुरुङले फोन उठाउनुभएन।