• १३ साउन २०८१, आइतबार

धनिराम मृत्यु प्रकरणः छानबिन समिति गठन

blog

शंकास्पद मृत्यु भएको भन्दै कारवाहीको माग सहित विरोध प्रर्दशन गर्दै परिवारका सदस्यहरु । तस्विरः फाइल

सुर्खेत, भदौ ४ गते । कर्णाली प्रदेश सरकारले लेकबेसी नगरपालिका १० सुर्खेतका ५९ वर्षीय धनिराम लामिछानेको मृत्युको सत्यतथ्य ल्याउन छानबीन समिति गठन गरेको छ । 

प्रदेश सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा पाँच सदस्यीय छानबीन समिति गठन गरेको छ । समितिको सदस्यमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कानून सचिव, जिल्ला प्रशासन कार्यालय तथा राष्ट्रिय अनुसन्धान कार्यालय सुर्खेतका एक/एक अधिकृत र जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक सदस्य रहेका छन् ।

उक्त समितिलाई घटनाको यथार्थ विवरणसहितको प्रतिवेदन ल्याउन सात दिनको समयसीमा दिइएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार लामिछाने मृत्यु घटनाका आरोपित कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिइएको छ ।

लामिछानेका आफन्तले वन कार्यालयका चारजना कर्मचारीविरुद्व किटानी जाहेरी निवेदन दिएका छन् । जसमा सहायक वन अधिकृत, फरेष्टर, दुई वन रक्षक रहेका छन् । वन कार्यालयका कर्मचारीले कार्यालय प्रमुखको आदेश अनुसार सालको रुख काट्दै गरेका लामिछानेलाई लिएर वन कार्यालयमा बुझाएको तर उनको मृत्युमा आफुहरुको कुनै कसुर नभएको बताएका छन् । शंकास्पद मृत्यु भएको भन्दै परिवारले तत्काल छानविन गरी कारवाही हुनु पर्ने माग गर्दे वन कार्यालय घेराउ गरेका थिए । 

कर्तव्य पालना गर्दा बिहीबारदेखि नै पक्राउ पूर्जी र उजुरी विना प्रहरी हिरासतमा राख्दा मनोबल गिरेको र आफूहरु अन्यायमा पारेको उनीहरुले गुनासो गरेका छन् । कर्मचारीले लामिछानेलाई बिहीबार वन कार्यालय पुर्याएर इजलास कक्षमा राखेको समयमा बेलुका ५ः१० बजे झ्यालमा घुँडा टेकेर झुण्डिएको अवस्थामा भेटिएको थियो ।