• २ माघ २०८१, बुधबार

उम्मेदवार छनौट गर्न समाजवादीले बनायो आठ मापदण्ड

blog

एकीकृत समाजवादी पार्टी बैठकमा उपस्थित शीर्ष नेता ।

काठमाडौं, भदौ २ गते। सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले आगामी निर्वाचनको उम्मेदवार छनौटका लागि आठ मापदण्ड तय गरेको छ। 

महासचिव डा. वेदुराम भुसालले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्नुहुँदै पार्टीको ३५ औं सचिवालयको बैठकले मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि उम्मेदवार मापदण्ड सम्बन्धमा निर्णय गरेको जानकारी दिनुभयो।

पार्टीको कार्यदिशा, नीति र कार्यक्रमप्रति प्रतिवद्ध रहेको, विद्रोहमा सक्रिय भूमिका र पार्टी निर्माणमा योगदान गरेको, पार्टी र क्रान्तिप्रतिको निष्ठा र अनुशासनमा दृढ रहेको, आर्थिक एवम् नैतिक आचरण राम्रो, जनतामा स्थापित एवम् लोकप्रिय व्यक्ति उम्मेदवारको मापदण्ड तोकेको छ। 

यसैगरी, स्वच्छ छवि भएको र सुशासनको पक्षपाति, कार्यक्षमता राम्रो र सक्रिय, समावेशीताको सिद्धान्त विपरीत नहुने लगायतका मापदण्ड समाजवादीले तय गरेको छ। 

प्रतिनिभिसभाको सदस्यमा प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवार बनाउन पार्टीको प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीले कम्तिमा एक महिलासहित बढीमा चार जनाको नाम जिल्ला कमिटीमा सिफारिस गर्नेछ। त्यसबाट कम्तिमा एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले प्रदेशमा सिफारिस गर्नेछ र प्रदेशले आफ्नो धारणासहित त्यो नाम केन्द्रमा पठाउने निर्णय समाजवादीले गरेको छ। प्रदेशसभा सदस्यको प्रत्यक्ष तथा समानुपातितर्फको उम्मेदवार बनाउन पनि सोही प्रक्रिया लागू हुनेछ। 

एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा जिल्ला कमिटीले नै प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्वय कमिटीको काम गर्नेछ। विशेष प्रदेश र जिल्ला कमिटीले समानुपातिक उम्मेदवारका लागि एक महिला र एक पुरुषको नाम सिफारिस गर्ने र उम्मेदवार सम्बन्धी निर्णय कमिटीको पूर्ण वा सचिवालय बैठकले गर्ने भएको छ। 

यसका लागि प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीले भदौ १० गतेसम्म, जिल्लाले प्रदेशमा भदौ १२ गतेसम्म, प्रदेशले केन्द्रमा भदौ १५ गतेसम्म सिफारिस गरिसक्नुपर्ने र केन्द्रीय कमिटीले भदौ २० गतेसम्म निर्णय गर्ने विज्ञप्तिमा उल्लेख छ। 

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।