• १५ असार २०८१, शनिबार

शिलान्यासमै सीमित औद्योगिक क्षेत्र

blog

लक्ष्मण दर्नाल  

काठमाडौँ, भदौ २ गते । पाँच वर्षमा सम्पन्न गर्ने भनिएका छवटा नयाँ औद्योगिक क्षेत्र निर्माण कार्य सात वर्ष हुँदा पनि सुरु हुन सकेका छैनन् । 

शिलान्यास गरेको दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य अगाडि बढेको छैन । कञ्चनपुरको दैजी औद्योगिक क्षेत्र, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयूरधाप र झापाको दमक औद्योगिक क्षेत्रको शिलान्यास २०७७ फागुनमा भएको थियो ।   

व्यवस्थापनको जिम्मा पाएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभिन्न कारणले शिलान्यास भए पनि त्यसपछि काम अगाडि बढ्न नसकेको जनाएको छ । बजेटको अभाव, सरकार परिवर्तन, टेन्डर आह्वान, वातावरणीय मूल्याङ्कन, बस्ती व्यवस्थापन, स्थानीयवासीको अवरोध तथा आन्तरिक व्यवस्थापनका कारणले ढिलाइ भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रवक्ता प्रकाश खड्काले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अपेक्षाअनुरूप प्रगति हुन सकेन, मुख्यतः बजेटको अभाव छ । प्रदेश र सङ्घीय मन्त्रालयबीचको समन्वय प्रभावारी हुन सकिरहेको छैन, अन्योलमै छौँ ।” 

सात प्रदेशमा स्थापना गर्न लागिएका नयाँ औद्योगिक क्षेत्रहरूको जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)लगायतका काम सम्पन्न गरी शिलान्यास गरिएको थियो । कम्तीमा एक हजार बिघा क्षेत्रफलमा नयाँ औद्योगिक क्षेत्र निर्माण गर्न २०७२ चैत १ गतेको सरकारको निर्णयबमोजिम औद्योगिक क्षेत्र निर्माणको काम अघि बढाइएको थियो । 

कञ्चनपुरको दैजी, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, चितवनको शक्तिखोर, मकवानपुरको मयूरधाप र झापाको दमक औद्योगिक क्षेत्रको शिलान्यास २०७७ फागुनमा भएको थियो तर काम अगाडि बढेको छैन 

दैजी औद्योगिक क्षेत्र  

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार कञ्चनपुर वेदकोट नगरपालिका–२ र ३ मा अवस्थित दैजी औद्योगिक क्षेत्र ४५० बिघा क्षेत्रफलमा निर्माण हुनेछ जसमा ३२ प्रतिशतमा प्लट रहने छन् । यसको लागत करिब नौ अर्ब रुपियाँ अनुमान गरिएको छ ।

दैजी औद्योगिक क्षेत्रमा रुख कटानको काम अन्तिम चरण रहेको प्रवक्ता खड्काले जानकारी दिनुभयो तर बजेट सुनिश्चित भएको छैन । 

दैजी औद्योगिक क्षेत्रमा कृषि, खनिज, विद्युत््जन्य उद्योग स्थापना गर्ने लक्ष्य छ, जसमा फलफूल तथा तरकारी, मासु प्रशोधन, म्यानुफ्याक्चरिङ, जडीबुटीजन्य, सुर्तीजन्य, कुखुरापालन, चिनी, दूधजन्य, मैदा, चाउचाउ, शिशु खाद्य, कागज, काष्ठजन्य टेक्स्टाइल, गार्मेन्ट, फलाम तथा स्टिल, कस्मेटिक र निर्माणसम्बन्धी उद्योग रहेका छन् । औद्योगिक क्षेत्र स्थापनापछि ५७ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने लिमिटेडले जनाएको छ । 

दमक औद्योगिक क्षेत्र 

झापाको दमक नगरपालिका र गौरादह नगरपालिकाको खयरघारी उत्तरी भूभागको दुई हजार एक सय बिघा क्षेत्रफलमा दमक औद्योगिक क्षेत्र निर्माण गरिने भएको छ । ५० प्रतिशत निजी र ५० प्रतिशत सरकारी जग्गा लिइएको यो औद्योगिक क्षेत्र निर्माणको लागत ६३ अर्ब रुपियाँ छ । 

दमक औद्योगिक क्षेत्र चीनले निर्माण गर्ने भएको छ । करिब एक लाख ३१ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान लिमिटेडको छ । 

मयूरधाप औद्योगिक क्षेत्र    

हेटौडा उपमहानगरपालिका–१६ र १७ मा अवस्थित मयूरधाप औद्योगिक क्षेत्रको क्षेत्रफल दुई सय बिघा रहेको छ । यो सरकारी जग्गा हो । सातदेखि १४ रोपनीसम्मका ६२ वटा औद्योगिक प्लट रहनेछन् । सात अर्ब रुपियाँ लागत अनुमान गरिएको छ । प्रवक्ता खड्काले भन्नुभयो, “मयूरधापमा पर्सा वन्यजन्तुलाई असर गर्छ भन्ने कुरा आएपछि अहिले त्यहाँ समन्वयको काम भइरहेको छ ।” मयूरधापमा १४ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान छ ।  

नौबस्ता औद्योगिक क्षेत्र 

बाँके नौवस्ताको पूर्वक्षेत्रमा रहेको नौबस्ता औद्योगिक क्षेत्र ३२८ बिघामा स्थापना हुनेछ । औद्योगिक क्षेत्रको प्लट १११ वटा हुनेछ । करिब नौ अर्ब रुपियाँ लागत रहेको छ । 

पाँच वर्षभित्र निर्माण कार्य सम्पन्न गरिनेछ । २२ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । स्वदेशी लगानीमा निर्माण गरिनेछ । 

मोतीपुर औद्योगिक क्षेत्र 

रुपन्देहीको तिलोत्तमा नगरपालिका र तिनाउ नदी किनारमा रहने मोतीपुर औद्योगिक क्षेत्रको लागत १२ अर्ब रुपियाँ अनुमान छ । औद्योगिक क्षेत्र सञ्चालनमा आएपछि ५२ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । मोतीपुर औद्योगिक क्षेत्र विदेशी लगानीमा निर्माण गरिने भएको छ तर सो स्थानको बस्ती व्यवस्थापन हुन नसक्दा काम अगाडि बढ्न नसकेको जनाइएको छ । यसको वातावरणीय अध्ययन हुन बाँकी छ । 

शक्तिखोर औद्योगिक क्षेत्र 

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र एक हजार ७४१ बिघामा स्थापना गरिनेछ, जसमा ७३२ प्लट रहनेछन् । ५९८ साना साइज र १२४ वटा ठूला साइजका प्लट रहनेछन् । करिब ३६ अर्ब रुपियाँको लागत अनुमान गरिएको छ । 

रुख कटानका लागि वन मन्त्रालयलगायतका निकायसँग समन्वय भइरहेको खड्काले जानकारी दिनुभयो । औद्योगिक क्षेत्र सञ्चालनपछि एक लाख १० हजार जनाले प्रत्यक्ष रोजगारी पाउने अनुमान गरिएको छ । यी छवटा औद्योगिक क्षेत्र स्थापना २०७२ देखिका आयोजना हुन् ।