• १२ मंसिर २०८१, बुधबार

निर्वाचनपछि कम्युनिस्टको एउटै केन्द्र

blog

लक्ष्मण दर्नाल 

काठमाडौँ, भदौ १ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिर ४ गतेको निर्वाचनपछि कम्युनिस्टहरूको एउटै केन्द्र बनाउने समझदारी भएको बताउनुभएको छ । 

उहाँले चुनावपछि माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलगायतलाई समेटेर कम्युनिस्ट पार्टी बनाइने जानकारी दिनुभयो । 

मङ्गलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईसहितका नेतासँगको छलफलपछि प्रचण्डले भन्नुभयो, “चुनावअघि एकता सम्भव छैन तर चुनावपछि हुन सक्छ ।” 

सो अवसरमा अध्यक्ष प्रचण्डले आफू र डा. भट्टराई अब एक ठाउँमा उभिएको बताउनुभयो । “एक ठाउँमा उभिएर अगाडि बढ्न हामीलाई कसैले रोक्न सक्दैन,” उहाँले भन्नुभयो, “बाबुरामजी र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ छ । हामी उभियौँ । अब कसैले रोकेर रोकिँदैन ।” 

माओवादी केन्द्र र समाजवादी पार्टी साझा चुनाव चिह्न, घोषणापत्र र उम्मेदवार बनाएर चुनाव लड्ने भएपछि एकै ठाउँ उभिएको अध्यक्ष प्रचण्डको तर्क थियो । उहाँले आफूहरू एकै ठाउँ उभिनुले राजनीति र परिवर्तनलाई संस्थागत गर्ने, देशलाई आर्थिक समृद्धिको दिशामा लैजाने सवालमा ठूलो महŒव हुने प्रस्ट गर्नुभयो । सात वर्षअघि माओवादी त्याग्नुभएका डा. भट्टराई मङ्गलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा जानुभएको थियो । 

माओवादीको स्थायी कमिटीको मङ्गलबारको बैठकले नेपाल समाजवादी पार्टी र नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमलाई सङ्घीय निर्वाचनमा चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय गरेको थियो । निर्णयलगत्तै माओवादी केन्द्र र समाजवादी पार्टीले निर्वाचन आयोगमा मङ्गलबार संयुक्त रूपमा दल दर्ता गरेका छन् । चुनाव चिह्न प्रयोग गर्न दिने निर्णय भए पनि सिटका बारेमा भने कुनै निर्णय भएको छैन । 

अभियानका संयोजक गौतमले भने आफूलाई सिट दिलाउने जिम्मा प्रचण्डलाई रहेको प्रतिक्रिया दिनुभयो । संयुक्त दल दर्ता गर्न निर्वाचन आयोग पुग्नुभएका गौतमले भन्नभुयो, “माओवादीकै कोटाबाट मलाई सिट दिने हो कि गठबन्धनबाट दिने हो, त्यो जिम्मा प्रचण्डजीको हो ।” 

यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ का जग्गापीडितलाई न्यायका लागि पहल गर्ने बताउनुभएको छ । सनहीका ६५ घरपरिवार किसानले मङ्गलबार प्रचण्डलाई भेटेका छन् । भूमाफियाले कर्मचारीको मिलेमतोमा ६५ परिवारको ३४ बिघा जग्गा हडपेपछि पीडित परिवार काठमाडौँको माइतीघर मण्डलामा धर्नामा छन् । पीडित किसानले विशेष अदालतमा मुद्दा दायर गरेका छ । मङ्गलबार नै धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ राई र अध्यक्ष प्रचण्डबीच खुमलटारमा भेटघाट भएको छ ।