• ६ साउन २०८१, आइतबार

पोखरा विमानस्थलको दुई प्रतिशत मात्र काम बाँकी

blog

विष्णु पाण्डेय/रमेश पौडेल

काठमाडौं, साउन २८ गते । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल गत चैतमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण ग¥यो । चैत महिनामै हस्तान्तरण गरिए पनि आयोजनाको दुई प्रतिशत काम भने अझै बाँकी छ । बाँकी काम सम्पन्न गरेर सन् २०२३ जनवरी १ तारिखमा विमानस्थल सञ्चालनमा ल्याउने योजना छ । 

नागरिक उड्डयन प्राधिकरणले अङ्ग्रेजी नयाँ वर्ष अर्थात् पुस १७ देखि सञ्चालन गर्ने निर्णय गरेको थियो । तर विमानस्थल सञ्चालन पूर्व रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट स्थानान्तरण गर्नुपर्ने अनिवार्य सर्त राखेको छ । 

रिठ्ठेपानी डाँडा कटानलाई तत्काल अघि बढाउने निर्णय भएको र ल्यान्डफिल साइट व्यवस्थापनमा पोखरा महानगरले प्रतिबद्धता जनाएको छ । तर विमानस्थलको दुई किलोमिटर क्षेत्रफलमा रहेको ल्याण्डफिल साइटको कसरी र कहाँ व्यवस्थापन गर्ने अझै अन्याेल रहेकाले आयोजना तोकिएकै मितिमा सञ्चालन हुनेमा विमानस्थल आयोजनाका प्रमुख बिनेश मुनकर्मीले शङ्का व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘आगामी जनवरी १ तारिखमा यस विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ, तर अहिलेसम्म ल्याण्डफिल साइट कहाँ सार्ने अन्याेल रहेकाले आयोजना तोकिएकै मितिमा सञ्चालन हुनेमा शंका छ । सञ्चालन हुन्छ कि भन्ने आशा भने हटेको छैन ।’ महानगरका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती ल्यान्डफिल साइटका कारण उडान सञ्चालनमा ढिलाइ नहुने बताउनुभयो ।  

आगामी जनवरी १ तारिखमा यस विमानस्थल सञ्चालनमा ल्याउने तयारी छ, तर अहिलेसम्म ल्याण्डफिल साइट कहाँ सार्ने अन्यौल रहेकाले आयोजना तोकिएकै मितिमा सञ्चालन हुनेमा शङ्का छ ।

महानगरकै ३३ वडाको भरतपोखरीमा अध्ययन भएको सोही ठाउँमा व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । यसकालागि मेयर धनराज आचार्यसहितको टोली बिहीबार धरान पुगेको थियो । सम्भवतः सोही प्रविधि पोखरा भित्रिन सक्ने उहाँले बताउनुभयो । तर यसकोे टुङ्गो भने लागेको छैन । 

ल्यान्डफिल साइटको विकल्पको रुपमा अन्तिम फोहर विसर्जन गर्ने प्रविधि जडान गर्ने योजना पनि छ । चीनको सहुलियत ऋण र चीन सरकारको स्वामित्वमा रहेको निर्माण कम्पनी सीएमसीईले २०१७ जुलाईमा विमानस्थल निर्माणकार्य सुरु गरेको थियो । सम्झौताअनुसार २०२१ जुलाईमा सम्पन्न हुनुपर्ने भए पनि कोरोना र विमानस्थल निर्माणमा आएका समस्याले पछि धकेलिएको हो । यस आयोजनाको २२ अर्ब ६० करोड रुपियाँ लागत अनुमान रहेको छ । 

विमानस्थलको निर्माणकार्य आयोजनाका प्रमुख विनेश मुनकर्मीका अनुसार आयोजनाको ९८ प्रतिशत काम सम्पन्न भएको छ । ‘निर्माणकार्य अन्तिम चरणमा पुगे पनि यहाँ देखिएको समस्याले विमानस्थल सञ्चालनबारे टुंगो लाग्न सकेको छैन’ उहाँले भन्नुभयो, ‘बर्खाको पानी, रिठ्ठेपानी डाँडा कटान र ल्यान्डफिल साइट प्रमुख समस्या हो । डाँडा कटान र बर्खाका पानी कटाउन नहरको समस्या समाधान अघि बढेको छ । तर ल्यान्डफिल साइटको समस्या भने अझै समाधान हुन सकेको छैन ।’

पोखराको चाउथेमा निर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म टर्मिनल भवन, पेरिफेरी रोड, रनवे, २५ मिटर ह्याङ्गर, ट्क्याक्सी वे, विमानस्थलभित्र टर्मिनल भवन, यात्रु आउजाउको बाटो, एटिआर, ३ अन्तर्राष्ट्रिय विमान र ४ ट्विनअटर विमान पार्किङका लागि भौतिक संरचना बनिसकेको छ । 

रिठेपानी डाँडा पन्छ्याउन रुख कटानका लागि स्वीकृति पाएकाले अहिले रुख कटानको काम भइरहेको प्रमुख मुनकर्मीले बताउनुभयो ।

अक्टोबर महिनामा यान्त्रिक परीक्षण उडान गर्ने योजना पनि रहेको उहाँले सुनाउनुभयो । रिठेपानी डाँडा पन्छ्याउन रुख कटानका लागि स्वीकृति पाएकाले अहिले रुख कटानको काम भइरहेको प्रमुख मुनकर्मीले बताउनुभयो । ‘तत्काललाई १४ मिटर लम्बाईमा यस डाँडामा रहेको रुख कटान गरेर अक्टोबरमा क्यालिब्रेसन फ्लाइट गर्ने योजना छ’ उहाँले भन्नुभयो, ‘पछि अन्य रुख पनि कटान गरेर डाँडा नै कटान गरिनेछ ।’

सञ्चालनमा चुनौती

विमानस्थलका आयोजना प्रमुख मुनकर्मीका अनुसार विमानस्थल सञ्चालनमा आउन मूख्य समस्या रिठेपानी डाँडा कटान, बर्खाको पानी र ल्यान्डफिल साइट हो । विमानस्थल नजिकै दूई किलोमिटरमा पोखरा महानगरपालिको फोहोर व्यवस्थापन गर्ने ल्यान्डफिल साइट छ । विमानस्थल सञ्चालन र सुरक्षित उडानका लागि विमानस्थलको दश किलोमिटर क्षेत्रमा ल्यान्डफिल साइट हुनुहुँदैन । 

पोखरा महानगरलाई उक्त ल्याण्डफिल साइट सार्न पाँच वर्षअघि नै पत्राचार गरिए पनि अहिलेसम्म टुङ्गो नलागेको आयोजना प्रमुख मुनकर्मीले बताउनुभयो । ‘ल्याण्डफिल साइट सार्नका लागि पोखरा महानगरलाई पाँच वर्ष अघिदेखि निरन्तर पत्राचार गरिरहेका छौँ तर अहिलेसम्म महानगरपालिकाले समाधान गरेको छैन’ उहाँले भन्नुभयो ‘नत्र संघीय सरकारबाट ल्याण्डफिल साइट हटाउन स्वीकृति लिएर काम अघि बढाउछौँ ।’

ल्याण्डफिल साइट सार्नका लागि पोखरा महानगरलाई पाँच वर्ष अघिदेखि निरन्तर पत्राचार गरिरहेका छौँ तर अहिलेसम्म महानगरपालिकाले समाधान गरेको छैन ।

आहारका लागि आउने चराचुरुङीले हवाई उडानमा जोखिम पार्ने सम्भावना पनि उत्तिकै छ । त्याण्डफिल साइटको व्यवस्थापन पछि ७० प्रतिशत चराचरुङ्गीको समस्या समाधान हुने मुनकर्मीले बताउनुभयो । चरा धपाउन पेट्रोलियम गाडी पनि प्रयोगमा ल्याइने मुनकर्मीले बताउनुभयो । 

दुई दिनअघि पोखरामा रहनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय उडानका लागि एयर रुट मिलाउने, अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीसँग समन्वय गर्ने कुरा सँगसँगै अघि बढ्ने दावी गर्नुभएको थियो । उहाँले अंग्रेजी नयाँ वर्षकै दिन सञ्चालन हुने तयारीका लागि मन्त्रालय अगाडि बढीसकेको बताउनुभएको थियो ।