• ५ साउन २०८१, शनिबार

भाइबहिनीबीच प्रेम, सद्भाव र समर्पणको प्रतीक

blog

मधेश प्रदेश ब्युरो

जनकपुर, साउन २७ गते । प्रेम, सद्भाव र समर्पणको प्रतीक मानिने रक्षा सूत्र वा राखी दिदीबहिनीले दाजुभाइको दाहिने हातमा बाँधेर शुक्रबार रक्षाबन्धन पर्व मनाइँदै छ। दाजुभाइको घरमा गएर दिदी बहिनीले रक्षा बाँध्न एक/दुई दिन अघिदेखि तयारीमा लाग्ने गर्छन्। हाट बजारका पसलमा राखी खरिद बिक्री गर्न लागेको भीड, रेडियो, एफएममा बजाउने गरेका गीतले रक्षाबन्धनको रौनक भान हुन्छ । 

यस क्रममा कल्याणपुर समाचारदाताका अनुसार रक्षाबन्धनको पूर्व सन्ध्यामा सप्तरीलगायत मिथिला क्षेत्रका प्रत्येक हाटबजारमा रङगीचङ्गी रक्षाबन्धन (राखी)का डोरा खरिद बिक्रीका लागि सजाइएका छन्। जताततै दिदीबहिनी र दाजुभाइबीचको आत्मीय सम्बन्धको भाव समेटिएका गीत गुञ्जन थालेपछि मिथिला नै यो पर्वमा रङ्गिएको छ। 

साउन शुक्ल पक्ष सुरु भएसँगै दाजुभाइ तथा दिदीबहिनीबीच न्यानो सम्बन्ध दर्शाउने गरी कलात्मक ढङ्गले तयार गरिएका रक्षा बन्धन किन्न प्रत्येकजसो पसलमा दिदीबहिनीको भीड देखिन्छ। 

जिल्लाका बजारका पसलमा पाँच/छ रुपियाँदेखि दुई/तीन सयसम्मका रक्षाबन्धन (राखी)का डोरा बिक्रीका लागि राखिएको भए पनि मध्यम मूल्यका (प्रतिवटा ५० रुपियाँसम्मका) राखी बिक्ने गरेको व्यापारी बताउँछन्। आफूले होस सम्हाले यता ३६ वर्षदेखि लगातार राखी किन्ने गरेको विगत सम्झिँदै विसनपुरका ४५ वर्षीया शर्मिला यादवले पहिला ‘मेरै भैया’ लेखिएको ठूूलो खालको राखी बढी मात्रामा किन्ने गरेको तर अहिले विभिन्न डिजाइनका राखी पाइन थालेको बताउनुभयो । मिथिला संस्कृतिको एक अभिन्न अङ्ग बनिसकेको यो पर्वको सन्देश नै प्रेम, सद्भाव र समर्पण रहेको संस्कृतिका जानकार शुभचन्द्र झा बताउनुहुन्छ। पर्वकै दिन ब्राह्मण पुरोहितको हातबाट रक्षाबन्धन बाँधिने परम्परासमेत भए पनि मिथिलामा यो पर्वको आकर्षण भने दिदीबहिनीको हातबाट राखी बाँध्ने गरिएको उहाँको भनाइ छ।

त्यस्तै जलेश्वर समाचारदाताका अनुसार ‘चन्दा रे मेरे भैया से कहना बहेना याद करे’ (चन्द्रमा मेरा दाजुलाई भन्नु बहिनीले सम्झिएको छ) हिन्दी भाषाको यो गीत अचेल मिथिलाञ्चलभर घन्किन थालेको छ। चारैतिर रक्षाबन्धन सम्बन्धी भाइ बहिनीको प्रेमको प्रतीक गीत घन्किरहेका छन्। 

रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई सम्झिने र दाजुभाइले पनि बहिनीलाई सम्झेर उनीहरू कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी  (रक्षा सूत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुसीयाली साटासाट गर्ने दिन रक्षाबन्धन हो। 

मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम, समर्पण र आपसीसम्बन्ध कहिल्यै नटुट्ने प्रतिबद्धता जनाइने यो पर्व यस क्षेत्रको मुख्य सांस्कृतिक पर्व मध्येको हो।

 मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षा बन्धन वैदिक परम्पराअनुसार मन्त्रोचारण गर्दै रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितले ‘येनबद्धो बली राजा दान वेन्द्रो महाबलः तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ भनी यजमानको नाडीमा रक्षा सूत्र बाँध्दै रक्षाबन्धन पर्व मनाइने गरिन्छ।  त्यस्तै रक्षाबन्धकै दिन तागाधारीले जनै अर्थात् यज्ञोपवितसमेत फेर्ने गर्छन् । जनैका दुई शिखामध्ये एउटा शिखामा रहने तीन डोरालाई ब्रहमा, विष्णु र महेश्वरको प्रतीकको रूपमा पुजिएको र अर्को डोराको तीन शिखालाई कर्म, उपासना र ज्ञानको त्रियोगको रूपमा मान्दै पूजापाठ गरी जनै फेर्ने गरिन्छ।