• ८ वैशाख २०८१, शनिबार

एन्फा मानार्थ अध्यक्ष श्रेष्ठ, कार्यवाहक प्रशिक्षकमा हुमागाईं

blog

काठमाडौं, साउन २६ गते । अखिल नेपाल फुटबल संघ (एन्फा) को मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ नियुक्त हुनुभएको छ । बिहिबार बसेको एन्फा बैठकले आगामी साधारणसभामा प्रस्ताव सहित अनुमोदन गर्ने गरी श्रेष्ठलाई मनार्थ अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । 

श्रेष्ठ एन्फाका पूर्व अध्यक्ष हुनुहुन्छ । बैठकले नेपाल र बंगलादेश पुरुष टोलीबीच असोज ११ गते मैत्रीपूर्ण फुटबल खेल्ने निर्णय गरेको छ । उक्त खेलका लागि प्रदीप हुमागाईंलाई कार्यवाहक प्रशिक्षकमा नियुक्त गर्ने निर्णय पनि गरेको छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी बिदामा रहेकोले प्रदीपलाई प्रशिक्षक बनाउने निर्णय गरिएको बताईएको छ । बैठकले प्रशिक्षक अलमुताईरीको विषयमा निर्णय गर्ने जिम्मा एन्फा महासचिव किरण राईलाई दिएको छ । बैठकले सदस्य सुरेश शाहलाई प्रवक्तामा र किशोर राईलाई साधारणसभाबाट अनुमोदन गर्नेगरी वरिष्ठ मानार्थ उपाध्यक्षमा नियुक्त गरेको छ । 

विदेश विभाग प्रमुख पाँडे हटाईयो

एन्फा बैठकले विदेश विभाग प्रमुखबाट नवीन पाँडेलाई हटाउने निर्णय गरेको छ । जर्मन नागरिक पाँडेलाई एन्फा निर्वाचित पदाधिकारीले पद वहाली गरेको पहिलो बैठकमै विदेश विभाग प्रमुखमा नियुक्त गरिएको थियो । यस निर्णयप्रति पछि  विवाद उत्पन्न भएको थियो । पाँडे अब अध्यक्ष नेम्वाङको सल्लाहकार मात्र रहने बताईएको छ । 

महिला साफको टिकट मुल्य तय 

एन्फा बैठकले काठमाडौंमा भदौ २१ देखि असोज ३ गतेसम्म सञ्चालन हुन लागेको महिला साफ च्याम्पियनसिप फुटबलको दर्शक टिकट शुल्क पनि निर्धाराण गरेको छ । जस अनुसार दर्शकले भिआईपी प्यारापिटतर्फ पाँच सय र साधारण प्यारापिटको तीन सय रुपियाँ शुल्क तय गरेको छ । महिला साफमा नेपाल समूह ‘बी’ मा परेको छ ।

नेपालको समूहमा भुटान र श्रीलंका रहेको छ । नेपालले पहिलो खेल भदौ २१ गते खेल्नेछ । समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ । समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । 

एनएसएल असोजमा गर्ने सहमति 

एन्फा बैठकले यसअघि विवादित बनेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) असोजमा गर्ने निर्णय गरेको छ । एनएसएल असोज २३ गतेबाट मंसिर २ गतेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । बैठकले एनएसएलसँग विगतमा गरिएको त्रुटिपूर्ण सम्झौता खारेज गर्ने निर्णय पनि गरेको छ ।

एनएसएल र एन्फाबीच सम्झौता नविकरणका लागि अध्यक्ष पंकजविक्रम नेम्वाङको संयोजकत्वमा सात सदस्यीय समिति समेत गठन गरिएको छ । समितिमा उपाध्यक्ष कुमार केसी, दीपक खतिवडा, सदस्य टिकाराम लामा, मनीराज विष्ट, रविन्द्र चन्द र पुरुषोत्तम थापा हुनुहुन्छ । बैठकले उपाध्यक्ष विराटजंग शाहीको संयोजकत्वमा पदपूर्ति समिति बनाउने निर्णय गरेको छ । 

असोज १२ गते विशेष साधारणसभा 

बैठकले एन्फाको विशेष साधारणसभा असोज १२ गते गर्ने निर्णय गरेको छ । एन्फाको नयाँ नेतृत्व आएपछि पहिलो पटक विशेष साधारणसभा डाकिएको हो । विशेष साधारणसभाले एन्फाको बाँकी दुई सदस्य समेत चयन गर्नेछ ।

यसअघि चुनावी साधारणसभामा  दीपक थापा क्षेत्री, रुपेश अधिकारी, दीपेन्द्र धिमाल र लोकेन्द्र गुरुङले समान ३९ मत प्राप्त गरेपछि एन्फाको विधान र फिफा र एएफसी प्रतिनिधिहरूको सुझाव अनुसार दुई सदस्यको चयन आगामी साधारणसभाले गर्ने निर्णय गरिएको थियो । 

यसैगरी बैठकले एन्फा अध्यक्षले चढ्दै आएको फरर्चुनर गाडी र एन्फाको बस लिलामी गरी सोबाट प्राप्त रकम खेलाडी अक्षयकोषमा राख्ने, ललित स्मृति यू–१८ फुटबल प्रतियोगिता जेठ २९ देखि असार १० गतेसम्म आयोजना गर्ने, फुटबल टोलीले देश विदेशमा उपाधि जित्दा प्रदान गरिने पुरस्कारको मापदण्ड तयार गर्नेलगायत १९ वटा निर्णय गरेको छ ।

बैठकमा विभिन्न २२ एजेन्डामा छलफल भएको थियो । यसअघि साउन ५ गतेका लागि तय भएको एन्फा बैठक विभिन्न पदाधिकारी नियुक्तिको विषयमा विवाद भएपछि स्थगित गरिएको थियो ।