• १६ चैत २०८०, शुक्रबार

खप्तडमा बन्दैछ सुविधायुक्त आवासीय ध्यान केन्द्र

blog

धार्मिक तथा पर्यटकीय क्षेत्र खप्तडमा रहेको पाटन । तस्बिर : डिलबहादुर सिंह

डिलबहादुर सिंह

डोटी, साउन २६ गते । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय क्षेत्र खप्तडमा आध्यात्मिक ध्यान केन्द्रको स्थापना गरिनेभएको छ । खप्तड पर्यटन क्षेत्र विकास तथा व्यवस्थापन समितिका कार्यकारी निर्देशक भीमबहादुर खड्काका अनुसार खप्तड क्षेत्रमा आवासीय सुविधासहितको आध्यात्मिक ध्यान केन्द्र निर्माण तयारीका लागि बिभिन्न निकाय र सरोकारवालासँग छलफल सुरु गरिएको छ । 

निर्देशक खड्काले भन्नुभयो, ‘सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक बर्ष २०७९/८० को बजेट वक्तब्यमा पनि खप्तड क्षेत्रमा  अध्यात्मिक ध्यान केन्द्रको स्थापना गर्ने विषय उल्लेख गरिएको छ । सङ्घीय सरकार र अन्य सरोकारवाला निकायमा ध्यान केन्द्र स्थापना गर्न आवश्यक पहल सुरु भएको छ ।’

सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को बजेट बक्तब्यमा पनि खप्तड क्षेत्रमा  ध्यात्मिक ध्यान केन्द्रको स्थापना गर्ने विषय उल्लेख गरिएको छ ।

खप्तड राष्ट्रिय निकुञ्जभित्र आध्यात्मिक ध्यान केन्द्र स्थापनाका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग अनुमतिलगायत आवश्यक प्रक्रिया अगाडि बढाइएको  बताइएको छ । खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यका साथै धार्मिक हिसाबले पनि महत्वपूर्ण क्षेत्र मानिन्छ । 

खप्तड क्षेत्र बझाङ्ग, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलको रुपमा रहेको छ । यो क्षेत्र खप्तड बाबा अर्थात स्वामी सच्चिदानन्द सरस्वतीले तपस्या गरेको पवित्र भूमिका रुपमा चिनिन्छ । खप्तडबाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको इतिहास छ । खप्तडबाबा आध्यात्मिक गुरु र दार्शनिकका रुपमा चिनिनुहुन्छ । खप्तड क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको ध्यान केन्द्रको रुपमा विकास गर्नसके बिश्वभरीका आध्यात्मिक ध्यान तथा योग मन पराउने ब्यक्तिलाई यस क्षेत्रमा भित्र्याउन सकिने स्थानीय ब्यवसायी रामबहादुर धामीको भनाइ छ । 

खप्तड क्षेत्र २ सय २५ वर्ग किलोमिटरमा फैलिएको छ । यस क्षेत्रमा रहेका त्रिवेणी, खप्तडदह, सहस्रलिङ्ग, नागढुंगालगायतका स्थानलाई हिन्दुहरुका लागि पवित्र तीर्थस्थलका रुपमा लिने गरिन्छ ।

खप्तड क्षेत्र २ सय २५ बर्ग किलो मिटरमा फैलिएको छ । यस क्षेत्रमा रहेका त्रिवेणी, खप्तडदह, सहस्रलिङ्ग, नागढुंगालगायतका स्थानलाई हिन्दुहरुका लागि पवित्र तीर्थस्थलका रुपमा लिने गरिन्छ । यी स्थानमा गङ्गा दशहरा, जनैपूर्णिमाजस्ता धार्मिक पर्वमा मेला लाग्ने र पूजाआजा हुनेगरेको छ । खप्तड क्षेत्रमा २२ वटा पाटन रहेका छन् । बाघ बुट्टे निङ्गालो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो ।