शेरबहादुर सार्की
बाजुरा, चैत ४ गते । बाजुराका किसानलाई आलु लगाउने चटारो परेको छ । यहाँ चैत महिनामा आफू लगाउने गर्छन् । बाजुरामा कात्तिकमा र चैत गरी दुई पटक आलु खेती गर्ने गर्छन् ।
कात्तिकमा लगाएको आलु बैशाख र चैतमा लगाएको आलु भदौमा निकाल्ने गर्छन् ।
यहाँका किसानले पहिलाभन्दा अहिले बढी आलु खेती गर्नेगरेका छन् । पहिला गाउँमा सडक सुविधा थिएन । त्यतिबेला यहाँका किसानले पनि आलु कम लगाउने गर्थे ।
अहिले यहाँका अधिकांश स्थानीय तहले आफ्नो प्रत्येक वडालाई सडक सञ्जालको पहुँच गरेसँगै अहिले यहाँका किसानले पनि आलु खेती बढी गर्नेगरेका छन् । खप्तड छेडेदह गाउँपालिका स्थानीय कृषक रङ्ग धामीले पहिलेभन्दा अहिले आलु खेती बढी गर्नेगरेको बताउनभुयो ।
उहाँले भन्नुभयो, “हिउँदे आलुभन्दा पनि बर्खे आलु बढी गर्छु । यति बेला आफूलाई प्रदेशबाट केही सहयोग मिलेको छ ।” प्रदेश सरकारबाट मलाई आर्थिक सहयोग मिलेपछि अहिले मैले आधुनिक प्रविधिबाट आलु खेती गरेको धामीले बताउनभुयो ।
जिल्लाको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा, बडिमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका ठाउँमा आलु राम्रो उत्पादन हुने गर्छ ।
खप्तड छेडेदहको काँडा, जयवाग्यश्वरी, डोगडी, आटिचौर, बडीमालिकाको ढम्कने, मना, कोर्ध बुढीगङ्गाको तुवापण, त्रिवेणीको किम्नी पन्धारा, कैलाशमाण्डौ, तोली, छतारा लगायतको ठाउँमा आलु राम्रो उत्पादन हुने गर्छ ।
यहाँ उत्पादन हुने आलु प्राय स्थानीय जातको आलु हो । यो आलु गाई भैसी र भेडाबाख्राको मलमा उतपादन गर्छन् । बाजुरा आलु खेतीका लागि निकै उपयुक्त जमिन हो । यहाँका प्रत्येक ठाउँमा आलु राम्रो उत्पादन हुने गर्छ । अहिले यहाँका स्थानीयले उत्पादन गरेको आलु जिल्लाभन्दा बाहिरको बजारसम्म पुग्ने गरेको छ ।
यहाँ उत्पादन हुनेगरेको आलु प्रायः लोकल तथा अर्गानिक भएकाले जिल्लाभन्दा बाहिरका बजारसम्म माग हुने गरेपछि अहिले यहाँको आलु देशका विभिन्न बजारमासम्म पुग्नेगरेको हो ।
बुढीगङ्गा नगरपालिका –४ साहुवाडाकी अमृता खातीले अन्नबालीभन्दा आलु खेती गर्दा जीविकोपार्जन गर्न सहज देखिएपछि अहिले यहाँका महिलाको आलु खेतीप्रति आकर्षण बढ्दैगएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आलु खेती गर्न खासै ज्ञान नहुँदा लगाउन मन गरेकी थिएन । गाउँमै प्राविधिक आएर आलु खेतीसम्बन्धी विभिन्न सल्लाह सुझाव दिन थालेपछि गाउँमा आलु खेती सुरु गरेकी छु ।’’
अन्नबालीभन्दा आलुबाट राम्रो कमाइ गर्न सकिने भएपछि अहिले यहाँका अधिकांश महिलाको आलु खेती गर्न थालेको खातीले बताउनुभयो । यहाँको आलु स्वाथ्यका लागि पनि निकै उत्तम हो । आलु तरकारी उसिन्याएर, समोसा चिप्स बनाएर खाने गर्छन् । बजारमा पाउने आलुभन्दा गाउँमा उत्पादन गरेको आलु निकै पौष्टिक हुने गर्छ । अहिले यहाँका किसानहरुले अन्नबाली भन्दा पनि आलु खेतीप्रति चासो दिने गरेका छन् ।
यहाँका किसानले उत्पादन गरेको तरकारीलाई कृषि ज्ञान केन्द्रले पनि बजारसम्म लैजानका लागि ढुवानी अनुदानको व्यवस्था गर्दैआएको छ । बाजुरामा विगतका केही वर्ष यता सयौ क्विन्टलभन्दा बढी आलु जिल्लाभन्दा बाहिर बिक्री भएको छ । यहाँ एक हजार ९२५ हेक्टर जमिनमा झण्डै २० हजार ४७० मेट्रिक टन आलु उत्पादन हुनेगरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।