• २३ असार २०८१, आइतबार

महिला हिंसाको उजुरी प्रहरीमा दर्ता गराउन सकस

blog

ललिता साह 

बोदेबसाईन (सप्तरी), साउन २५ गते । दुइटै मिर्गौला फेल भई दुई महिना अघि डाकनेश्वरी –१ का २४ वर्षिय अनवरको मृत्यु भयो । उहाँको मृत्युपछि २२ वर्षको कलिलो उमेरमै एकल हुन पुग्नुभएकी रुपनी –५ कि ऐसा खातुन अनवरको परिवारका सदस्यबाटै कुटपिटपछि घर निकालामा पर्नुभयो । 

दैव र परिवार दुबैतिरको अन्यायमा पर्नुभएकी ऐसाको न्यायका लागि डेढ महिनादेखि ऐसाकी आमा नाजो खातुन इलाका प्रहरी कार्यालय रुपनी गाउँपालिका अन्तर्गतको न्यायिक समिति र जिल्ला प्रहरी कार्यालय धाएर थाकिसक्नु भयो । तर उहाँको उजुरी दर्ता भएको छैन । 

साउन ११ मा औषधी पसलमा उपचार गराउन पुग्नुभएकी जिल्लाको रुपनी गाउँपालिका २ पौवा टोलका ३५ वर्षिया सियादेवी मण्डलको ज्यान गयो । औषधी पसलका सञ्चालक सुनिल यादव डाक्टरी पेशामा ज्ञान नभएका मानिस हुन् । उनी स्वास्थ्यबारे केही अध्ययन नगरी औषधि पसल सञ्चालन गर्दैआएको पीडितको आरोप छ । दर्ता नै नभएको सो फार्मेसीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा पीडित परिवारका सदस्यले उजुरी दिन जाँदा प्रहरीले तत्परता देखाएन ।

पीडित स्वयम् प्रहरीसमक्ष उजुरी लिएर जाँदा पनि प्रहरीले उजुरी दर्ता नगरेको स्थानीय धेरैको गुनासो छ । कतिपय घटनामा आर्थिक चलखेल हुने र जताबाट आर्थिक सहयोग हुन्छ, प्रहरी त्यतैतिर ढल्किने भएपछि पीडितलाई न्याय हुन नसकेको स्थानीयको गुनासो छ । त्यसले महिला हिंसाको घटना पनि बढाएको उहाँहरुको बुझाइ छ । 

प्रादेशिक कानूनी सहायता केन्द्रका प्रमुख अधिवक्ता किरणकुमारी साहका अनुसार स्थानीय तहमा स्थानीय पीडितहरु झन पीडित भइरहेका छन् । कतिपय घटनामा प्रहरीले आँखा चिम्लिने गरेको उहाँले बताउनुभयो । 

घटनाको अनुसन्धान अधिकार पाएका प्रहरी प्रशासनले अनुसन्धानको नतिजालाई दुरुपयोग गर्दैआएका कारण पीडितले प्रहरीमा सहजै उजुरी दर्ता गराउन नसकेको अधिकारकर्मी सविता कोइरालाको पनि भनाइ छ । सबै घटनालाई एकै नजरले हेर्न नहुने उहाँको सुझाव छ । 

तर सप्तरीमा अधिकांश आपराधिक घटनामध्ये ८० प्रतिशत घटना झूठा, बनावटी र अरूलाई फसाउने खालको आउनेगरेको प्रहरीको भनाइ छ । विना कारण बनाइएका घटना प्रहरीले दर्ता गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय मुद्दा शाखाका प्रमुख इन्सपेक्टर राजीव गिरीले बताउनुभयो ।