• १२ साउन २०८१, शनिबार

सरकारी योजनालाई दुहुनो गाई बनाइएको छ : मन्त्री चौधरी

blog

गोरखापत्र अनलाइन

काठमाडौं, साउन २५ गते । सहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारी योजनालाई ठेकेदारहरुले दुहुनो गाई बनाएको बताउनुभएकाे छ । यसरी राज्यलाई ट्रयापमा पार्ने गिरोहलाई आफूले नछोड्ने उहाँको भनाइ छ । मन्त्री चौधरीले एक कार्यक्रममा सो कुरा बताउनुभएको हो । 

‘आफू मन्त्री भइसकेपछि तपाईँलाई मन्त्री मैले बनाएको हुँ । फेरि पनि मन्त्री बनाउँछु सम्म भन्न केही मान्छे आए’ मन्त्री चौधरीले थप्नुभयो, “देश कसरी चलाउन खोजिएको छ, कस्ता मान्छेहरु राज्य सत्ताको वरिपरि घुमिरहेका छन् यसले पुष्टिगर्छ ।’ 

यसअघि सहरको नक्साङ्कन गर्नेहरुले, ठेकेदारले नाफा कसरी कमाउने भन्ने मात्र सोचेकाले आज अधिकांश सहर बिग्रिएको मन्त्री चौधरीले बताउनुभयो । जनतालाई जोड्ने विकास मोडेलले मात्र सफलता प्राप्त हुने उहाँको भनाइ छ ।   

‘यसअघि उपभोक्तामार्फत हुने एक करोड रुपियाँ मुनिका योजनाहरु रोकिएको थियो, म आएपछि तत्काल त्यसलाई खोल्ने निर्देशन दिएको छु’ मन्त्री चौधरीले भन्नुभयो, “ठेकेदारमार्फत जम्मै काम गराउनु उचित होइन ।” ठेक्का लिने, समय गुजार्ने, खर्च बढाउने, ठेक्का लिएर भाग्नेदेखि बर्बाद पार्नेसम्मको काम भइरहेको उहाँले बताउनुभयो । 

“ठेकेदारले योजनालाई दुहुनो गाई बनाएका छन्” उहाँले भन्नुभयो । आफ्नो कार्यकाल छोटो भए पनि फोहोर व्यवस्थापन र सवारीजामको स्थायी समाधान गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।