• ५ साउन २०८१, शनिबार

चलचित्र क्षेत्रको सुधारमा लाग्नेछु : केसी

blog

सन्तोष सुवेदी

कास्की, साउन २३ गते । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूसँग यस क्षेत्रको लामो अनुभव भएकोले सीमित समयमा नै उल्लेख्य काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। क्याराभान नेपाल प्रालिले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने बताउनुभयो। 

“चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको छु, थुप्रै समस्या छन्। जसको समाधानको बाटो खोज्दै अगाडि बढ्नेछु। समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकारलगायत सबैको साथको अपेक्षा छ । काम गर्न आएको हुँ। छोटो समयमै सही काम गरेर देखाउने छु,” उहाँले भन्नुभयो। 

“यसमा भएका विविध समस्यासँग म जानकार नै छु। हिजो प्रश्न गर्ने ठाउँमा म थिएँ। आज उत्तर दिने ठाउँमा छु। प्रशासनलाई बुझ्दै छु। सबैलाई समेटेर चलचित्र क्षेत्रको सुधारमा लाग्ने प्रण गर्दछु,” उहाँले भन्नुभयो। कलाकार प्रकाश घिमिरेले नेपाली कथावस्तुअनुसार कलाकारले अभिनय गर्ने हुँदा मौलिकतामा विशेष ध्यान दिनुपर्ने बताउनुभयो। सिनेमा बुझेको निर्माता चलचित्र क्षेत्रमा आउनुपर्ने भनाइ उहाँको छ।