• १४ वैशाख २०८१, शुक्रबार

विद्यालयमै बालबालिकालाई दूध

blog

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, साउन २३ गते । बालबालिकाको पोषणमा सुधार ल्याउने उद्देश्यसाथ रुकुमपश्चिमको मुसीकोट नगरपालिका–६ का बालबालिकालाई विद्यालयमै दूध खुवाउने व्यवस्था गरिएको छ। वडाले वाल शिक्षा र कक्षा १ का बालबालिकालाई विद्यालयमा दूध कार्यक्रम थालेको हो। चालू आर्थिक वर्षको बाल पोषण कार्यक्रमअन्तर्गत वडामा रहेका तीनवटा विद्यालयमा सो कार्यक्रम सञ्चालन गरिएको कार्यवाहक वडाध्यक्ष अनिल बुढाले जानकारी दिनुभयो। 

सो वडाका तीन विद्यालयका बाल शिक्षा र कक्षा १ मा जम्मा ६६ विद्यार्थी छन्। विद्यार्थीलाई दैनिक एक गिलास दूधको व्यवस्था गरिको छ। सो कार्यक्रमका लागि वडाले एक लाख ४० हजार रुपियाँ बजेट विनियोजन गरेको जनाइएको छ। 

वडा नं. ६ का समाज कल्याण आधारभूत विद्यालय मेलचौर, जनचेतना आधारभूत विद्यालय कालीमाटी र बालकल्याण मावि झुल्खेतमा सो कार्यक्रम लागू भएको छ। 

यो कार्यक्रमबाट बालबालिकाको पोषण स्थितिमा सुधार आउने अपेक्षा गरिएको कावा अध्यक्ष बुढाले बताउनुभयो। यो कार्यक्रमबाट स्थानीय किसानले उत्पादन गरेको दूधले समेत बजार पाउने भएको छ।